दुलही तयार थिइन् तर जन्ती आएनन्

रोहित महतो

जनकपुरधाम – विवाहको रौनक र उत्साहले धनुषाको नगराइन नगरपालिका–२ जटहीस्थित मुसहरी टोलमा आइतबारको साँझ उल्लासमय थियो। स्थानीय बेचनीदेवी सदाकी छोरी पूजाको विवाहको भव्य तयारी थियो। छिमेकी मुलुक भारतबाट करिब ६० हजार खर्चेर ल्याइएको पन्डाल, लाइट र लाउडस्पिकरले उल्लास थपेका थिए। स्वयंवर मञ्च र विवाह मण्डप (मडवा) समेत तयार थिए। परिवार, छरछिमेक र आफन्त नयाँ पहिरनमा सजिएर जन्ती कुरिरहेका थिए। घरमा कोही गीत गाउँदै थिए भने कोही नाच्दै थिए।

सजिएकी बेहुली पूजा पनि जीवनसाथी पाउने उल्लासले गदगद थिइन्। जन्तीलाई नास्ता खुवाउन मिठाईसहितका परिकार प्याक गरेर राखिएको थियो भने खानाका लागि परिकार पाक्दै थिए। तर यो खुसी टिक्न पाएन। घरपरिवार तथा टोलवासीले राति २ बजेसम्म कुरेर बसे तर जन्ती आएनन्, कारण थियो बिहेअघि नै दाइजोमा मोटरसाइकल नदिनु। आइतबार राति करिब १० बजेदेखि नै घरपरिवारले बेहुला र उनका बुवालाई फोन गर्न थाले, २ बजेसम्म पनि कसैको फोन उठेन। अनि आफन्त तथा परिवारको खुसी रुवावासीमा परिणत भयो। बेचनी बेहोस हुन थालिन्, घरिघरि दाँती लाग्न थाल्यो।

प्रकाशित मिति: : 2020-03-11 22:52:47

प्रतिकृया दिनुहोस्