भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को राष्ट्रिय चयन समितिले पूर्वकप्तान तथा विकेटकीपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीलाई टिममा राखेको छैन। तर चयन समितिको अध्यक्षमा दुई जना नयाँ सदस्य समावेश भएसँगै धोनीलाई टिममा फर्काइन एक शर्त राखिएको छ।
बीसीसीआईका अधिकारीका अनुसार ‘यदि धोनीले भारतीय टिममा फर्कन चाहने हो भने आसन्न आईपीएल क्रिकेटमा राम्रो प्रदर्शन गर्नुपर्नेछ ।’ जोशीभन्दा पहिला एमएसके प्रसाद चयन समितिको अध्यक्ष हुँदा उनले भनेका थिए, ‘धोनीभन्दा भारतीय टिम धेरै अगाडि बढिसकेको छ । अब धोनी फेरि टिममा पर्नका लागि आईपीएलमा राम्रो गर्नुपर्ने छ ।’
यही कुरालाई अहिलेका अध्यक्ष जोशीले पनि दोहोर्याएका हुन् । आईपीएल आउँदो मार्च २९ तारिखदेखि सुरु हुँदैछ ।
सुनिल जोशीको अध्यक्षतामा अहमदाबादमा बसेको पहिलो बैठकले दक्षिण अफ्रिकाविरुद्धको सिरिजका लागि भारतीय टिमको घोषणा गरेको थियो। जसमा यो समितिले हार्दिक पाण्ड्या, शिखर धवन र भुवनेश्वर कुमारलाई टिममा बोलाएको छ ।
धोनीले गएको वर्षको जुलाईमा इङ्ग्ल्याण्डमा भएको विश्वकप क्रिकेटको सेमिफाइनलपछि खेलेका छैनन् । विश्वकपपछि उनी भारतीय टिमबाट टाढा रहँदै आएका छन् ।
बीसीसीआईका अधिकारीका अनुसार दक्षिण अफ्रिकाविरुद्धको सिरिजका लागि टिमको चयन गर्दा धोनीको विषयमा कुनै पनि कुरा भएन । भारतीय टिमले अहिले विकेटकीपर ब्याट्सम्यानको रुपमा केएल राहुल र ऋषभ पन्तलाई समावेश गर्दै आएको छ ।