मनोरम प्राकृतिक छन्। मृगहरूको लस्कर। स्वर्गीय आनन्द। पवित्र पाशुपत क्षेत्रको मृगस्थलीको नाम लिनासाथ तीर्थालु हुन् वा पर्यटक, जो कोहीले यस्तै वातावरणको परिकल्पना गर्छन्। तर, यथार्थ भने यसभन्दा भिन्न छ। पाशुपत क्षेत्रका चार उद्यानमध्ये विश्वसम्पदा सूचीमा रहेको मृगस्थलीमा केही समय यता बोकाहरू छोडिएको छ।
शास्त्रहरूमा उल्लेख भएजस्तै मृगस्थलीलाई यथार्थमै मृगहरूको चरण र स्थायी वासस्थानमा रूपान्तरण गर्न २०५८ सालमा पशुपति क्षेत्र विकास कोष र तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोष सक्रिय भए।
त्यसपछि जावलाखेलस्थित सदर चिडियाखानाबाट मृग प्रजातिका ३२ वटा कृष्णसार र जरायो ल्याएर छाडियो। र, तिनको चरनका लागि गोरखनाथको पश्चिमदेखि किराँतेश्वरको पूर्वसम्मको ८० रोपनी जग्गामा छेकबार लगाइयो। बर्सेनि दुईदेखि तीन बेत पाउने भएका कारण मृगको संख्या क्रमशः बढ्दै गएर १३२ पुगेको छ।
तिनका लागि अहिले अत्यावश्यक आहारविहार क्षेत्र साँघुरो भएको छ। बत्तीस मृग बस्न मिल्ने गरी निर्माण गरिएको संरचनामा धेरै मृग हुँदा त्यसैत व्यवस्थापन गर्न अप्ठ्यारो भइरहेको बेला बोकाहरूको पनि संख्या थपिँदा व्यवस्थापनसँगै तारबार गरी पालिएका मृगका कारण श्लेषमान्तक वनको अस्तित्व नै समाप्त हुँदै गएको छ। वनमा रहेका पुराना रुखको जरासमेत मृगले खोतल्न थालेपछि हाल मृगस्थली उजाड बन्दै गएको छ। पछिल्लो समय मृगस्थलीमा मृग भन्दा बढी बोकाहरूको दृश्य देख्न पाइन्छ।
पशुपति विकास कोषका अधिकृत रेवती रमण अधिकारीका अनुसार मृगस्थलीमा बोकाको संख्या बढ्नुमा पशुपति दर्शन गर्न आउने दर्शनार्थी स्वयं जिम्मेवार रहेको बताए।
बोकाहरुले मन्दिर परिसरमा जथाभावी फोहोर गरिदिएकै कारण बाध्यताले मृगस्थलीमा बोका राखेको अधिकृत अधिकारीले बिएल नेपाली सेवालाई बताए। 'दर्शनार्थीहरुले मन्दिरमा बलि चढाउनका ल्याएका स-साना बोकाहरूलाई छोडेर जान्छन्', उनले भने, 'त्यहीँ बोकाहरूले ठूलो भएपछि जथाभावी दिसा पिसाब गरिदिन्छ, त्यसैले फोहोरबाट बचाउनका लागि भए पनि मृगस्थलीमा बोकाहरू राखिएको हो।' मन्दिर दर्शन गर्न आउने भक्तजनलाई बोकाहरूले दुःख दिने र मृग र बोका एउटै जातका भएकाले पनि उनीहरूलाई मृगस्थलीमा राखिएको अधिकारीले जानकारी दिए। 'दर्शन गर्न आउने भक्तजनलाई बोकाहरूले अनावश्यक दुःख दिएपछि यसको सबै जिम्मेवारी हाम्रो हुन्छ। दर्शनार्थीको समस्या समाधान गर्नकै निम्ति हामीले बोकालाई मृगको स्थानमा राखिएको हो।' बोकालाई मृगस्थलीमा राखेपछि कुनै पनि समस्याको सामाना गर्नु नपरेको उनले दाबी गरे। 'मृग र बोका एउटै जात हो, त्यसैले कुनै समस्याहरु भोग्नुपरेको छैन्,’ उनले भने। उनले रहरले बोकालाई मृगको ठाउँमा नराखेको भन्दै बाध्यता बुझिदिन आग्रह गरे। ‘बोकालाई त्यतिकै छाडा छोड्नु पनि त भएन नि', उनले भने, 'छाडा छोड्यो भने फोहोर बनाईहाल्छ, यसको व्यवस्थापन त गर्नै पर्यो, त्यसैंले हामीले व्यवस्थापन मात्र गरेका हौ।’
मन्दिरको हेरचाह र भक्तजनको समस्याको सबै जिम्मेवारी आफूहरु माथि भएकाले सबै कुराको व्यवस्थान गर्नुपर्ने उनले जानकारी दिए। 'मृगस्थलीमा बोका राखिएकाले मन्दिर वरपर हुने फोहोर जोगिएको अधिकारीले दाबी गरे।
यता तारबार गरिएको क्षेत्रमा भएका घाँसपात मृगले खाएर सिध्याइसकेका छन् भने तिनको दिसापिसाबमा भएको अम्लियपनका कारण मृगस्थली सुक्खा क्षेत्र बन्दै गएको छ। मृगका भालेले रूखमा सिँगौरी खेलेर बाहिरको बोक्रा निस्किएपछि कतिपय ठूला र बूढा रूख मरिसकेका छन्। चिलाउने, फिलिंगे, लाकुरे, फित्तीफ्याँ, खरीका सयौँ वर्ष पुराना सयौँ रूखसमेत सुकेर उजाड देखिन्छ। विभिन्न क्षेत्रको समन्वयमा मृगस्थली क्षेत्रमा वृक्षरोपण गरिए पनि मृग र बाँदरका कारण वृक्षारोपणमा मात्रै सीमित भएको छ। सीमित स्थान र मृगको जन्मान्तर छिटोछिटो हुने र थपिएका बोकाले कोषलाई व्यवस्थापन गर्न गाह्रो भएको छ। कोषले मृगको हेरचाहका लागि तीन कर्मचारी खटाएको छ।
कर्मचारी दिल बहादुर खत्रीका अनुसार बोकालाई दिनमा दुई पटक दाना र दिउँसो एक पटक घाँस दिइने गरिन्छ। ‘बिहान र बेलुका गरी बोकालाई चना, भटमास र मकै दिने गरेका छौं’, उनले भने, ‘जरूरत परे भिटामिन पनि दिन्छौं।'
२६ वटा बोकालाई १८ जनाले घाँस काटेर दिने गरेको कर्मचारी खत्रीले जानकारी दिए। बोकालाई त्यसरी दान दिँदा दिनमा करिब पाँच हजारसम्मको खर्च हुने उनको भनाई छ।
'बोकाहरु बिरामी भए बढी हेरचाहको आवश्यक पर्छ', खत्रीले भने, 'त्यसका लागि झन् छुट्टै खर्च लाग्छ। त्यो त कार्यालयले नै व्यहोर्छ।' त्यत्रो बोकाहरुलाई स्याहार्नु समस्याको काम रहेको कर्मचारी खत्रीले बताए।