फागु वा होली भन्ने बित्तिकै रंग, भंग अनि प्रेम, प्रणयका सन्दर्भ जोडिन्छन्।
लगभग ६० वर्षअघिको काठमाडौंमा हामी होली हैन, फागु खेल्थ्यौं। पुस–माघको मीनपचास विदाभर टोलका सबै साथीसँग खेलेको गुच्चा, पैयुँ र पांग्रा एक कुनामा थन्क्याएर स्कुल जानुपर्थ्यो। फागुन महिनाले फागु तुरुन्त बोलाएसँगै टोलछिमेकका सबै साथीसंगिनीसँग फेरि जमेर खेल्ने अवसर जुर्थ्यो।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौं वसन्तपुरमा कुमारी घरअगाडि गद्दि बैठक छेउमा तीनतले चीर ठड्याइन्थ्यो। त्यसपछि रंग खेल्न फागुले स्वतन्त्रता दिन्थ्यो। अरू बेला रंग खेल्दा प्रहरीले पक्रन सक्थ्यो। त्यसैले फागुका सात दिन सकेसम्म धेरै अबिर खेल्थ्यौं।