दुई स्रष्टाका कृति सार्वजनिक

जुम्लाका दुई स्रष्टा पुरिचन्द्र देवकोटा र खडानन्द चौलागाईका कृति सार्वजनिक भएका छन्। शुक्रबार उद्योग संघ जुम्लाको सभाहलमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले दुबै कृति सार्वजनिक गरेका हुन।

देवकोटाको ‘साहित्यिक यात्रा’ र चौलागाईको ‘अनियन्त्रित मनका बरालिएका सपनाहरु’ नामक पुस्तक सार्वजनिक गर्दै भण्डारीले साहित्यले कृति जन्माउनु स्रष्टाको लागि सन्तान जन्माउनु जस्तै भएको बताए। 

‘जसरी एउटी आमालाई सन्तान जन्माउन जति गाह्रो हुन्छ, त्यसरी नै स्रष्टालाई कृति निकाल्न गाह्रो हुन्छ,’ उनले भने, ‘साहित्यले समाज रुपान्तरणको अगुवाई गर्नुपर्छ। समृद्धिको चाहना सम्वोधन गर्न खबरदारी गर्नुपर्छ भने समाजमा रहेका विकृति विसंगतिको चिरफार गर्नुपर्छ।’

पूर्व पशुपन्क्षी विकास राज्यमन्त्री गोमा कुँवरले सर्जकहरुले अत्यन्तै मेहनत र कष्टका साथ कृति जन्माएकोमा खुशी व्यक्त गरिन्। ‘यहाँ स्रष्टा थुप्रै छन्। आर्थिक अभावका कारण प्रकाशन गर्न सकेका छैनन्। लुकेका प्रतिभावन स्रष्टालाई बाहिर ल्याउनु अहिलेको अपरिहार्यता हो।’ उनले पुस्तक प्रकाशन गरेका सबै स्रष्टालाई सम्मान गर्नु पर्नेमा जोड दिइन्। 

चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले संस्कार र सभ्यता विकासमा साहित्यको ठुलो योगदान रहने बताइन्। ‘साहित्यले यहाँको हावापानी, भुगोल, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय क्षेत्रको महत्व दर्शाउँछ,’ उनले भनिन्,   ‘लेखक तथा साहित्यकार रत्नाकर देवकोटादेखि हालसम्म साहित्यकारहरु जन्मने क्रम बढेकोले भोलिको भविष्य सुखद छ।’

त्यस्तै तातोपानी गाउँपालिका अध्यक्ष नबराज न्यौपानेले खस राज्यको विलयसँगै खस साहित्य, इतिहास र दर्शनपनि विलय भएको बताए। ‘इतिहासको गहिरो ढंंगले अनुसन्धान गरौं। यो साहित्यकारको जिम्मेवारी पनि हो,’ उनले भने, ‘हामी कथनमा आधारित कुरा गरिरहेका छौं। भएका पनि निकै तोडमोड गरिएका छन्। त्यसैले पाठक वर्गले सहजै अध्ययन गर्न सक्ने र बुझ्ने खालका सिर्जानामा जोड दिन म स्रष्टाहरुलाई आग्रह गर्छु।’

जुम्ला लाम्राका लालप्रसाद चौलागाईले दुबै पुस्तकको टिप्पणी गर्दै साहित्य लेखन निकै कठिन विद्या भएको बताए। ‘दुबै कृतिले हराएको संस्कार र संस्कृति, बाटो बिराएको राजनिति र हराउँदै जान थालेको कलालाको उजागर गरेका छन्,’ उनले भने, ‘पुस्तकमा यात्रा संस्मरण, भौगोलिक विविधता, सिर्जना लगायत समावेश हुनु सर्जकहरुले आफ्नो धर्म पूरा गर्नु हो।’ 

अर्का टिप्पणीकार जुम्ला बहुमुखी क्याम्पसका प्रमुख बसन्तराज भण्डारीले जुम्लाले साहित्य क्षेत्रमा उचाई लिदै गएको बताए। यस्तो अवस्थामा नयाँ पुस्तक आउनुले साहित्यलाई उठाउँदै लैजानेमा विश्वास बढेको उनको मत थियो। 

‘सकेसम्म पुस्तकमा सन्दर्भ सामाग्री उल्लेख भए राम्रो हुन्छ। आगामी दिनमा अझै परस्कृत हुनेमा आशावादी छु। केही कमजोरी रहेपनि साधना राम्रो छ,’ उनले भने, ‘साहित्यका क्षेत्रमा लामो अनुभव भएका स्रष्टाहरुका पुस्तमा भएकाले भावनाका कुरा बढी आएका छन्। त्यसैले दुबै पुस्तक पढ्नलाई रुचिकर हुने ठानेको छु।’

‘साहित्यिक यात्रा’का लेखक देवकोटाले यसअघि ‘कर्णाली दर्पण,’ ‘रारा पथपदर्शक’ प्रकाशित गरेका छन् भने चौलागाईको यो कृति पाँचौ कृति हो। 

पुस्तक सार्वजनिक समारोहमा भेरीकर्णाली लोक सांस्कृतिक मञ्चका अध्यक्ष तुलराज गिरी (उमेश)ले ‘पिराद’ पत्र नामक कविता वाचन गरेका थिए भने चन्दननाथ नगरपालिकाका पदमबहादुर भण्डारीले गीति लयमा आफ्नो सुखदुख साटेका थिए। 

लेखक देवकोटा र चौलगाईले खस साहित्यमा सरकारले लगानी गरेर जगर्ने गर्न लाग्नुपर्ने बताए भने पाठक बढ्न नसकेकोमा दुखेसो पनि पोखे। पुस्तक सार्वजनिक सबै सहभागिलाई माक्र्स वितरण गरिएको थियो।

प्रकाशित मिति: : 2020-03-07 10:06:39

प्रतिकृया दिनुहोस्