अष्ट्रेलियाका बलर मिचेल स्टार्कले दक्षिण अफ्रिकाविरुद्धको अन्तिम तथा तेस्रो एकदिवसीय खेल नखेल्ने भएका छन्।
आप्नै देशमा भइरहेको आईसीसी महिला टी २० विश्वकप फाइनल खेल हेर्न उनी आफ्नो खेल छाडेर अष्ट्रेलिया फर्कने भएका हुन्।
स्टार्ककी श्रीमती एलिसा हेले टी २० विश्वकपको फाइनल खेल्ने अष्ट्रेलियन टिममा छिन्। घरेलु टोली अष्ट्रेलियाले उपाधिका लागि मेलवर्न क्रिकेट मैदानमा भारतसँग फाइनल खेल्दैछ।
अष्ट्रेलियाका प्रशिक्षक जस्टिन लान्जरले स्टार्कको लागि यो जीवनकै महत्वपूर्ण अवसर रहेको कारण रिलिज गरेको बताए।
‘घरेलु मैदानमा एलिसा विश्वकप फाइनल खेलेको हेर्न पाउनु स्टार्कको लागि जीवनकै महत्वपूर्ण अवसर हो। त्यसैले हामीले उनको श्रीमतीको खेल हेर्न र उक्त माहोलमा सहभागि हुन अवसर दिएका छौं’ लान्जरले भने।
उनले मिचेल स्टार्क नहुँदा पनि टिममा बलिङ अप्सन रहेको र जोस हाजलउड, झे रिचर्डसन र केन रिचर्डसन मध्ये एक जनाले अवसर पाउने बताए।
महिला विश्वकप फाइनलकै दिन अष्ट्रेलियन पुरुष टिमले दक्षिण अप्रिकासँग तेस्रो ओडीआई खेल्दैछ। तीन खेलको सिरिज दक्षिण अफ्रिकाले २-० ले जितिसकेको छ।