पशुपतिनाथ मन्दिर परिसरमा रहेको आर्यघाटमा दैनिक कम्तिमा ४० देखि ५० वटा सम्म शव जल्ने गरेका छन्।
एउटा शव जलाउन ४ देखि ५ क्वीन्टल सम्म दाउरा आवश्यक पर्छ।
पशुपति विकास कोषका अधिकृत रेवती रमण अधिकारीका अनुसार शव जलाउँनका लागि चाहिने दाउरा वन मन्त्रालय अन्तर्गतको टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले बेच्ने गर्छ।
शव जलाउनका लागि दाउराबाहेक अन्य सामाग्रीहरू जौ, ध्यू, तेल र श्रीखण्ड लगायतका सामाग्री पनि चाहिन्छ। अधिकारीका अनुसार शव जलाउँदा चाहिने आवश्यक थप सामग्री सबै पशुपतिको सहकारी पसलबाट ल्याउने गरिन्छ।
यस्तै शव जलाउँने क्रममा पराल पनि चाहिन्छ। शव जलाउँदा आगोलाई उग्र बनाउन आवश्यक परला तराईका विभिन्न जिल्लाबाट ल्याउने गरिन्छ।
‘दाउराकोमाथि पराल राख्नाले आगोको धुँवा जथाभावी जादैँन,’ उनले भने, ‘यस्तो पराल तराईका बारा, पर्सा, रौतहट जस्ता जिल्लाबाट ट्रकमा राखेर ल्याइन्छ।’
एउटा शव जलाउन दुई भारी पराल चाहिने उनको भनाइ छ।
आर्यघाटमा शव जलाउनेका लागि पशुपति क्षेत्र विकास कोषले करिब ५० जना कर्मचारी नियुक्त गरेको छ। कर्मचारीले मृतकका आफन्तसँग सम्बन्ध राख्ने गर्छन्। उकर्मचारीको तलब लोकसेवाका खरदार जतिकै हुने अधिकारीले बताए।
कर्मचारीको काम चौँबिसै घण्टा हुने उनको भनाइ छ। ‘शव आउने टुङगो हुँदैन, त्यसकारण कर्मचारीलाई चौँबिसै घण्टा खटाइएको हो,’ अधिकारीले भने।
पशुपति आर्यघाटमा दिनमा एउटै पनि शव नआउँदा सांस्कृतिक नियम अपनाउनुपर्छ। अधिकारीका अनुसार आर्यघाटमा शव आएन भने कुशको शव बनाएर जलाउँनुपर्छ।
घाटमा सास चल्दै गरेको अन्तिम अवस्थाका बिरामीलाई पनि ल्याउँने गरिन्छ। त्यस्ता बिरामीहरुलाई राख्ने छुट्टै कक्ष हुन्छ। ‘अन्तिम सास रहेका बिरामीलाई त्यँहाका वैद्यले जडिबुटीको सहायताले जाचँ गर्छन्’, उनले थप्दै भने, ‘डाक्टरले मृत भएको घोषणा गरेका कतिपय व्यक्तिहरू सकुसल घर फकिएका छन्, जुन चमत्कार भन्दा कम होइन।’
पशुपति क्षेत्र विकास कोषले शव जलाउने कामलाई व्यवस्थित बनाउन घाट सेवा कार्यालय सञ्चालन गरेको छ। मृतकका परिवारले तोकिएको शूल्क तिरेपछि मात्र शब जलाउन पाउँछन्। पशुपतिमा वागमतीको किनारमा रहेको घाटमा दाउराबाट र विद्युतीय मेसिनबाट शवदाह गर्ने व्यवस्था छ ।
अधिकारीका अनुसार दाउराबाट शव जलाउँदा बढीमा २५ हजार रूपैयाँसम्म लाग्ने गर्छ। पशुपति आर्यघाटमा पुगेपछि सबैभन्दा पहिला घाटसेवा कार्यालयमा गएर चिता बनाउने ठाँउ बुकिङ गर्नुपर्छ। पुलभन्दा माथि रहेको २ वटा घाटमा शव जलाउदा एउटाको ६ हजार र अर्कोको ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ। जहाँ विशिष्ट व्यक्तित्वहरुको शव जलाउने गरिन्छ ।
यस्तै पुलभन्दा तल भष्मेश्वर घाटमा १० वटा चिता छन्। ती चिताको भाडा १ हजार पर्छ। यस्तै शव जलाउनका लागि दर्ता शुल्क २ सय रुपैयाँ तिर्नुपर्छ।
दाउरा किन्नका लागि दुईवटा ठाउँ रहेको छ। त्यहाँ प्रतिकिलो १० रुपैयाँका दरले दाउरा किन्नुपर्ने हुन्छ। एक शव जलाउन २ सय देखि ५ सय किलो दाउरा लाग्ने गर्छ। यसरी दाउरामा २ हजारदेखि ५ हजार खर्च लाग्छ।
यस्तै दाउरा सल्काउन श्रीखण्डदेखि घिउ पराल आदिका लागि १ हजारदेखि १० हजार सम्म खर्च लाग्ने उनले बताए ।
यस्तै शव जलाउनेलाई १५ सय, चिता बनाउनेलाई ६ सय रुपैयाँ ज्याला दिनुपर्छ।
‘आर्यघाट ठ्याक्कै मन्दिरको मुखमा छ’, उनी भन्छन् ‘धार्मिक विश्वास भएकाले मानिसहरु महंगो भए पनि आर्यघाटमा शव जलाँउन खोज्छन्।’ आर्यघाटमा शव जलाउनका लागि महंगो खर्च लाग्नुको कारण त्यसलाई हटाउन खोजिएको उनको भनाइ छ।
‘पशुपतिमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई ध्यानमा राखेर नै सो नियम हटाउन खाजिऐको हो’, उनी भन्छन्, ‘तर चलिआएको चलन सजिलै हटाउन पनि त सकिदैँन रहेछ नि।’
आगोमा एउटा शव जल्न तीन घण्टासम्म लाग्ने गरेको उनले जानकारी दिए।
यस्तै विद्युतीय मेसिनबाट जलाउँदा ४ हजार शूल्क लाग्छ भने अन्तिम संस्कारका लागि चाहिने सामग्रीको थप १५ सय गरी ५५ सय रुपैयाँ लाग्छ । यसमा ४५ मिनेटमा एउटा शव जलिसक्छ।
२०७२ सालबाट सञ्चालनमा आएको विद्युतीय शवदाह गृहमा शव जलाउन मानिस हिचकिचाउने गरेका छन्।
विद्युतीय शवदाह गृह भन्दा घाटमा धेरै लाश जल्ने गरेका छन्, मानिस सबै किसिमका मृत्यु संस्कार गर्न मिल्दैन कि भन्ने मान्छन्।
‘हामीहरु त चाहन्छौं शव दहन गनै मेसिन नै प्रयोग होस् तर, हिन्दृहरुलाई त्यो पाच्य छैन’, अधिकारीले भने, ‘परापूर्वकालदेखि चल्दै आएका संस्कृतिकलाई बिर्सन चाहँदैनन्।’ यद्यपी मेसिनमा शव जलाँउन सबै जनाका लागि फाइदाजनक रहेको उनको भनाइ छ।
विद्युतीय मेसिनबाट शव जलाउँदा वायु प्रदुषण कम हुने साथै आर्थिक स्थिति कमजोर हुनेलाई पनि सहज हुने गर्छ।
‘दाउरामा शव जलाँउदा वरपरको वातावरणमा त्यसको धुँवाले असर पुर्याउँछ। तर, मेसिनमा त्यस्तो समस्या हुदैँन। मेसिनको प्रयोगले वातावरण सफा रहन्छ,’ उनले भने।
पशुपतिमा नियमित दर्शन गर्न आउने दर्शनार्थीका निम्ति दाउरामा जलाउने गरेको शव समस्या बनेको उनको भनाई छ। बिहान बिहानै जलाएका शवको धुँवाले दर्शनार्थीहरु झिँझो मान्ने गरेको अधिकारीले बताए।
यो पनि हेर्नुहोस्
आर्यघाटमा लाश कुरेर बसेका घाटे भन्छन्– जीवनमा खुसीकाे अनुभव कहिल्यै गर्न पाइनँ (भिडियाे)