सम्यक सङ्कल्प : अष्टाङ्ग मार्गको दोस्रो अङ्ग

अठोट व्यक्त गर्ने धेरै हुन्छन् तर जसले अठोटलाई समयसँगै अझ नयाँ उचाइमा पुर्‍याउन सक्छ, जित उसको मात्र हुने हो

आर‍. मानन्धर

काठमाडौं

हामी बुद्धले प्रतिपादन गरेको अष्टाङ्ग मार्गमा छलफल गर्दैछौँ । अष्टाङ्ग मार्ग वा आठ अङ्गको मार्गको पहिलो अङ्ग सम्यक दृष्टि (राइट भिजन) हो भने दोस्रो अङ्ग हो— सम्यक सङ्कल्प । सम्यक दृष्टिका सम्बन्धमा त अघिल्लो लेखमा छलफल भइसकेको छ । त्यसमा हामीले कसरी सही दूरदृष्टि (भिजन) बनाउने, जीवनमा उद्देश्य लिने र लक्ष्य राख्ने भन्ने विषयमा कुरा गर्‍यौँ । लक्ष्य, उद्देश्य राख्ने त धेरै हुन्छन् तर किन थोरै मानिस मात्र लक्ष्यसम्म पुग्छन् ? यसको मुख्य कारण हो, सङ्कल्प लिन नजान्नु वा लिएको सङ्कल्पलाई जोगाइराख्न नसक्नु ।

सङ्कल्पको अर्थ हो अठोट वा प्रतिबद्धता । सम्यक सङ्कल्पको अर्थ हुनआउँछ— सही अठोट । हरेक मानिसले जीवनमा कुनै न कुनै बेला कुनै राम्रो लक्ष्य सोचेको हुन्छ र त्यो पूरा गर्ने अठोट पनि लिएको हुन्छ । तर धेरै मानिस बीच बाटोमै लक्ष्य बिर्सने वा छोड्ने हुन्छन् । खास कुरा के हो भने जति ठूलो अठोट लिएर अघि बढिन्छ, त्यति नै धेरै बाधा, अवरोध, कठिनाइहरूको सामना गर्नुपर्ने हुन्छ । अठोटमा अडिन नसक्नु नै विफलता वा अपूर्ण सफलताको कारक हो । त्यसैले अठोट भनेको एक पटक लिएर पुग्दैन, त्यसलाई पुनः नवीकरण गरिरहनुपर्छ, नयाँ ऊर्जा थपिरहनुपर्छ । विभिन्न परिस्थितिमा अठोट जोगाइराख्ने तरिका र तयारी हुनुपर्छ । महानभन्दा महान मानिस पनि यात्राको दौरानमा पटक पटक निराशाको शिकार हुने गर्छन् । तर तिनीहरू गन्तव्यसम्म पुग्न सक्नुको कारण हो, क्षणिक निराशाले घेरिए पनि आफ्नो मनलाई सम्हाल्दै पुनः अठोटमा दृढ हुँदै अघि बढ्नसक्नु ।

प्रकाशित मिति: : 2020-03-06 21:43:22

प्रतिकृया दिनुहोस्