अमेरिकाको ४६औं राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडनबीच नै प्रतिस्पर्धा हुने सम्भावना बढ्दो छ। सुपर टुज्डेमा अप्रत्यासित जीत हासिल गरेर डेलिगेट्स संख्यामा बाइडन अग्रस्थानमा पुगेपछि यो नयाँ परिस्थिति सिर्जना भएको हो।
प्राप्त पछिल्लो परिणामअनुसार बाइडनले सुपर टुज्डेका १४ राज्यमध्ये १० मा जीत निकाल्ने प्रक्षेपण गरिएको छ भने बर्नीले तीन राज्यमा मात्र जित्ने सम्भावना देखाइएको छ। बाइडनले जित्ने राज्यको सूचीमा भर्जिनिया, टेक्सास, नर्थ क्यारोलाइना, म्यासाचुसेट्स, मिन्नेसोटा, अलाबामा, अर्कान्सास, टेनेसी, मेन र रहेका छन् भने बर्नीले भर्मण्ट, कोलोराडो र उटाह जित्ने प्रक्षेपण गरिएको छ। यी राज्यको परिणाम आइसके पनि औपचारिकता दिइएको छैन। यही प्रक्षेपणको आधारमा ५०९ डेलिगेट्सका साथ बाइडन अग्रस्थानमा देखिएका छन् भने ४४९ डेलिगेट्सका साथ बर्नी उनलाई पछ्याइरहेका छन्। उम्मेद्वारी कायमै राखेकी एलिजावेथ वारेनसँग ३७ र तुल्सी गवार्डसँग १ डेलिगेट्स रहेका छन् । २६ डेलिगेट्स रहेका बटिजज, १७ रहेका माइकल ब्लुम्वर्ग र ७ डेलिगेट्स जितेकी एमी क्लोबचरले उम्मेद्वारी स्थगित गर्दै बाइडनलाई समर्थ गरिसकेका छन् ।
सबैभन्दा बढी ४१५ डेलिगेट्स भएको क्यालिफोर्नियामा भने बर्नी अगाडि देखिएका छन्। यद्यपि, त्यहाँ कसले जित्ने हो अझै प्रक्षेपण गरिएको छैन । राजनीतिक पण्डितहरू भन्छन्, क्यालिफोर्नियाको परिणाम आइसक्दा बर्नी केही डेलिगेट्सले अगाडि हुन सक्छन्।
यसैबीच मध्यपन्थी धारका अर्का उम्मेद्वार माइकल ब्लुमवर्गले बाइडनलाई समर्थन गर्दै मैदान खालि गरिदिएका छन्। उनको यो निर्णयले अब मध्यपन्थी संस्थापन धार एकजुट भएको छ।
सुपर टुज्डेको परिणामलाई हेर्ने हो डेमोक्रेटिक संस्थापन पक्ष आफ्नो रणनीतिअनुसार नै डेमोक्रेटिक मतदातालाई तीन कुरा समझाउन सफल भएको जस्तो देखिएको छ- पहिलो बर्नी आउटसाउडर हुन्, डेमोक्रेट हैनन्, दोस्रो- बर्नीले ट्रम्पलाई जित्न सक्दैनन् र तेस्रो- बर्नीका कारण सिनेट चुनाव पनि हारिन्छ ।
उता, उदार प्रगतिशील धारमा भने बर्नी स्याण्डर्सलाई एलिजावेथ वारेनले अझै अप्ठ्यारो पारिरहेकै छिन्। आफ्नो गृहराज्य मासाचुसेट्स पनि गुमाएकी वारेनलाई उम्मेद्वारी त्यागेर बर्नीलाई समर्थन गर्न चौतर्फि दबाब बढे पनि उनी अझै पनि त्यो निर्णयमा पुगिसकेकी छैनन्।
सुपर टुज्डेको परिणामलाई हेर्ने हो डेमोक्रेटिक संस्थापन पक्ष आफ्नो रणनीतिअनुसार नै डेमोक्रेटिक मतदातालाई तीन कुरा समझाउन सफल भएको जस्तो देखिएको छ- पहिलो बर्नी आउटसाउडर हुन्, डेमोक्रेट हैनन्, दोस्रो- बर्नीले ट्रम्पलाई जित्न सक्दैनन् र तेस्रो- बर्नीका कारण सिनेट चुनाव पनि हारिन्छ।
अझ यस अगाडि बढेर डेमोक्रेटिक संस्थापन पक्षले बर्नी कम्युनिष्ट हुन् र उनका कम्युनिष्ट एजेण्डा पारित नै गर्न नसकिने खालका छन् भन्ने खालको सन्देश पनि डेमोक्रेटिक मतदातामा लैजान सफल भएको छ।यसरी डेमोक्रेटिक संस्थापनको घेराबन्दीमा परेका बर्नीका लागि २०२० को उम्मेद्वारी पनि २०१६ को जस्तै हुने देखिएको छ। त्यतिबेला उनी सुपर डेलिगेट्सको अंकगणितमा पछि परेर फालिएका थिए। संस्थापनकी उम्मेद्वार बनेकी हिलारीलाई अन्तिममा इमेल काण्डले अमेरिकाको ४५औं राष्ट्रपति बन्नबाट झड्का दिएको थियो। त्यसको फाइदा लिदै रिपब्लिकन आउटसाइडर डोनल्ड ट्रम्पले ह्वाइट हाउस यात्रा तय गरेका थिए।