श्यामकृष्ण दाहाल
दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई आज शल्यक्रिया कक्षमा लगिँदैछ। म आफैँलाई हरियो कपडा भिरेर प्रत्यारोपणका लागि शल्यक्रिया कक्षमा लगिँदैगरेको त्यो दिन सम्झिरहेछु।
एक हजार ५६१ दिन।
औंलै भाँचेर गनेँ।
मेरो पुनर्जन्मको आज यति दिन पुगेछ।
पुनर्जन्म त हो। नभए त म आज कहाँ यहाँ हुन्थेँ र ? मलाई माया गर्ने आफन्तहरूको स्मृतिमा मात्र बाँचिरहेको हुन्थेँ। मेरो दैनिक जीवन भने अस्तित्वको रंगमञ्चबाट हराइसकेको हुन्थ्यो।
२९ वर्षकै उमेरमा जन्मजात लिएर आएका दुवै मिर्गौलाले साथ छोडेपछि एक मन त मैले आफैसँग हार मानिसकेको थिएँ।
तर, साथ दिने आफन्तहरू थिए। मृत्युलाई जित्न सक्ने प्रविधिको विकास भइसकेको थियो। र त म आज यहाँ छु। बाँचिरहेछु। हाँसिरहेछु। जिन्दगीको रथलाई कुदाइरहेछु।