नेपालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली फेरि एकपटक चर्चाको शिखरमा छन्। दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको कोठा नम्बर ६०१ मा भर्ना भएपछि उनको चर्चा चुलिएको हो।
यतिबेला देशदेखि विदेशसम्मका नेपालीहरू सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणका लागि शुभकामना र शीघ्र सुस्वास्थ्यको कामना गरिरहेका छन्। ओलीको विचार बोक्ने कम्युनिष्ट मात्र हैन, विरोधी विचार बोक्ने कंग्रेस पनि यो पंक्तिमा उभिएर सामाजिक सञ्जाल खासगरी फेसबुक रंगाइरहेका छन्।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापाले त स्वास्थ्यलाभको कामना गर्न चाहनेका लागि शुभेच्छा फर्म बनाएरै सार्वजनिक आव्हान गरेका छन्। उनीहरूका फेसबुक साथीहरूले यसको नेटवर्किङ गर्दै सेयर र इन्डोर्समेन्ट गरेका छन्। पार्टीका कार्यकर्ता र सार्वजनिक जीवन बोकेका मानिसले शुभकामना दिएनन् भने उनीहरू कालोसूचीमा पर्ने सम्भावना बढ्दो छ।
मिर्गौला प्रत्यारोपणको प्रसंगमा लाइमलाइटमा ल्याएपछि केही समय बित्छ, त्यसपछि त नौ दिनमा नौलो र २० दिनमा बिर्स्यो हुने नेपाली समाजले गोकुल टेपकाण्डदेखि सबै बिर्सिहाल्छ। ओलीको 'सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना'को लहरले अहिले नै धेरै राष्ट्रिय महत्वका मुद्दाहरू विषयान्तर भैसकेका छन्।
लगभग यस्तो माहौल बनाइएको छ कि, ओलीको सफल सल्यक्रियाको कामना नगर्ने र शीघ्र स्वास्थ्यलाभको कामना नगर्ने न नेपाली नै हैन। अहिले सबैले नेपाली हुन फेरि एकपटक प्रतिस्पर्धा गर्नुपरेको छ। जसले गर्दैन, उसलाई नेपालमा सामाजिक भएर बाँचन गाह्रो छ। ओलीका लागि शुभकामना दिनेहरूले भन्न थालेका छन्- यस्तो बेला पनि शुभकामना नदिने असभ्य मानिस। यो भनाइ खानबाट बच्न अरूको त के कुरा भयो र ?, मुलुकका राष्ट्रपति र उपराष्ट्रपति नै ओली निबास बालुवाटार पुगेका छन्।
यो पंक्तिकारलाई भने यो जयजयकार अलि बढी नै हो कि भन्ने लागेको छ। रोग त शत्रुलाई पनि नलागोस् भन्ने नेपाली जातिको चरित्र हो । यही चरित्रका आधारमा सबै नेपालीले ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना त गर्छन् नै। भित्रभित्रै कहिले उनी जालान् रआफ्नो पालो आउँछ भन्ने वा ओलीको पेलानमा परेका कतिपयलाइ यसमा अपवाद भनेर छुट दिनुपर्ने होला, त्यो बेग्लै कुरा भयो।
केहीले भने भाञ्जी पर्ने ३२ वर्षीय सदीक्षा संग्रौला ज्ञवालीको मिर्गौला लिएर उनले अन्याय गरेको नोट अफ डिसेन्ट लेखें । उनीहरूले प्रश्न गरे, ६९ वर्ष बाँचिसकेको मानिस जो मुलुकको सत्तारूढ पार्टीको अध्यक्ष र दुई-दुईपटक प्रधानमन्त्री भैसकेको छ अब के का लागि एकजना गरिखाने बेलाकी युवतीको मिर्गौला लिएको होला ?
ओलीको चर्चा उले अस्पताल भर्ना हुनुभन्दा केही समयअगाडि एक श्रव्यदृश्य सामग्री युट्युवमा अपलोड भएको छ। सामग्रीलाई हेर्ने दृष्टिकोण या त ओलीफोबियामा आधारित छ, यहाँ ओलीमेनियामा । ओलीमेनियकहरूले यसमा उनको साहस र दृढ इच्छाशक्ति देखेका छन् भने ओली-फेबियकले यसमा ओलीले आफू निर्विकल्प हुँ भन्ने दम्भ प्रदर्शन गरेको ठानेका छन्।
जे भए पनि ओली समाचारका कारखाना हुन् । उनलाई कस्ता समाचार बनाएर कस्ता समाचारलाई किनारा लगाउनुपर्छ भन्ने खेल खेल्न मजाले आउँछ। कस्ता घटनालाई प्रकाशमा ल्याएर कस्ता घटनालाई दबाउनुपर्छ भन्ने पनि राम्ररी आउँछ । अहिले सिंगो मुलुक ओलीको मिर्गौला प्रत्यारोपणको पछि लागेको छ। यसले गर्दा ओली आफू पनि परोक्षरूपमा संलग्न भएको गोकुल टेप काण्ड पूरै किनारा लाग्यो । तेह्रथुमको राजसी जन्मोत्सव र नेपाल केक काण्ड पनि विस्मृतिको छायाँमा पर्यो। वामदेवको राष्ट्रियसभा सदस्य काण्डको त नामोनिशाना पनि रहेन। पार्टीमा आएको संकट पनि छुमन्तर भयो ।
सरकार र पार्टी दुबैमा अप्ठ्यारोमा परेका बेला प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणको साइत जुराएर एक तीरले अनेकौ शिकार गर्न सफल भएका छन्। राजनीतिका वाचल खेलाडी ओलीलाई थाहा छ, मिर्गौला प्रत्यारोपण र स्वास्थ्यलाभको बेला सहानुभूति समय पाइन्छ, त्यतिबेला पार्टीका बैठक पनि छल्न पाइन्छ, सरकारका निर्णय पनि यता उता पार्न सकिन्छ।
ओलीले यही समयमा मिर्गौला प्रत्यारोपणको समय रोज्नुको मूलकारण नै यही हो । सजिलै इमोसनल ब्लाकमेलिङ हुने नेपाली जातिको कमजोरीको फाइदा लिने अचुक उपायको रूपमा उनले आफ्नो मिर्गौला प्रत्यारोेपणलाई त्रुपको पत्ता बनाए। अरू सबै हेरेको हेरै भए।
केहीले भने भाञ्जी पर्ने ३२ वर्षीय सदीक्षा संग्रौला ज्ञवालीको मिर्गौला लिएर उनले अन्याय गरेको नोट अफ डिसेन्ट लेखें । उनीहरूले प्रश्न गरे, ६९ वर्ष बाँचिसकेको मानिस जो मुलुकको सत्तारूढ पार्टीको अध्यक्ष र दुई-दुईपटक प्रधानमन्त्री भैसकेको छ अब के का लागि एकजना गरिखाने बेलाकी युवतीको मिर्गौला लिएको होला ? यसमा केहीले नैतिकताको प्रश्न जाेडेर पनि ओलीलाई प्रश्न गर्ने कोशिस गरे। तर, ओलीले चितायो कि बितायो भन्ने संकथन निर्माण भैसकेको नेपालमा यी कुनै पनि प्रश्नको जवाफ आउला भनेर सोच्नु नै बेकारको कुरा हो ।