‘कुडा कर्णालीका’ गर्न देशभरका लेखक तथा पत्रकार सुर्खेतमा

कर्णाली उत्सव ‘कुडा कर्णालीका’ गर्न देशभरका करिब ७० जना लेखक, बौद्धिक व्यक्तित्व तथा पत्रकारहरु  प्रदेश राजधानी सुर्खेत आइपुगेका छन्। तीन दिनसम्म चल्ने उत्सव सोमबारदेखि कर्णाली उत्सव सुरु हुँदैछ।

आयोजक संस्था ऋति फाउण्डेशनका अनुसार बिहान ११ बजे बुलबुले उद्यानमा नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले उत्सवको उद्घाटन गर्नेछन्।

उद्घाटन अघि बिहान ७ देखि ९ बजेसम्म कर्णाली राइर्डस क्लबले मंगलगढीचोक हुँदै वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा साइकल र्‍याली निकालिएको छ। उद्घाटन सत्रपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ‘कर्णाली घुमौं, कर्णाली चिनौं’ सन्देशको प्रवचन दिनेछन्। उत्सवका संयोजक कमल लम्सालले मन्त्री भण्डारीको प्रवचन पश्चात् औपचारिक सत्र सुरु हुने जानकारी दिए।

उत्सव आयोजकका अनुसार पहिलो सत्र रहेको छ, ‘सरकारका तीन तह, बगाउन्या कर्णालीका बह’। लेखक तथा पत्रकार सरोजराज अधिकारीले सञ्चालन गर्ने सत्रमा संघीय सरकारका तर्फबाट वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र स्थानीय सरकारका तर्फबाट चन्दनाथ नगरपालिका जुम्लाकी प्रमुख कान्तिका सेजुवालले तीन तहका सरकार र कर्णालीका बारेमा बहस गर्नेछन्। दिउँसो १ देखि २ बजेसम्म हुने सत्रमा तीन तहका सरकारबीच आपसी समन्वय, कर्णालीको अवस्थाबारे छलफल हुनेछ।

दिउँसो २ बजेदेखि ३ बजेसम्म ‘खसका खासखुस’ नामक सत्र सञ्चालन हुनेछ। लेखक माधव चौलागाईले सञ्चालन गर्ने सत्रमा खस भाषाको पहिलो शब्दकोष ‘खसिया आखर’का लेखक खसभाषी रमानन्द आचार्य, डा बद्री चापागाई र डा रमेश ढुङ्गेलले बहस गर्नेछन्। कर्णालीबाट उत्पत्ति भएको खस भाषाको विगत, वर्तमान र भविष्यका सन्दर्भमा उक्त सत्रमा बहस हुनेछ। 

३ बजेदेखि ४ बजेसम्म ‘संस्कार र समानता’ शीर्षकमा हुने बहसमा लेखक तथा प्राध्यापक सञ्जीव उप्रेती, उषा तितिक्षु र गीता कोइरालाले बहस गर्नेछ भने सञ्चालन टीका विष्टले गर्नेछिन्।

त्यस्तै, ‘कर्णालीको रंगमञ्च’ शीर्षकमा ४ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने सत्रमा इन्द्रा हमाल, मिन भाम र गणेशभक्त गौतमले बहस गर्नेछन् भने सञ्चालन रंगकर्मी एवं पत्रकार प्रकाश लामिछानेले गर्नेछन्। 

उत्सवको पहिलो दिन ५ बजेदेखि ६ बजेसम्म गजल वाचन हुने आयोजकले जनाएको छ। तीन दिनसम्म सञ्चालन हुने उत्सव कर्णालीबारे बौद्धिक तवरबाट भएको पहिलो तथा बृहत बहस हो।

प्रकाशित मिति: : 2020-03-02 23:58:13

प्रतिकृया दिनुहोस्