प्रिमियर लिग: म्यानचेस्टरकाे हार टर्याे

एजेन्सी

काठमाडाैं

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको छ। 

आइतबार राति गुडिसन पार्क लिभरपुलमा भएको खेलमा म्यानचेस्टर युनाइटेड एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो। 

 एभर्टनका डोमिनिक कलभर्ट लेविनले गोल गर्दा युनाइटेडका ब्रुनो फर्नान्डेजले बराबरी गोल फर्काए।

खेलको तेस्रो मिनेटमा नै युनाइटेडका गोलरक्षक डेभिड हे गेयाको गम्भीर गल्तीमा घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो।

ह्यारी मिगुएरको ब्याक पासलाई गोलरक्षक गेयाले लामो प्रहार गर्न ढिला गर्दा कलभर्टले ब्लक गर्दै नियन्त्रणमा लिदै खाली पोस्टमा गोल गरेका थिए।

३१औं मिनेटमा ब्रुनो फर्नान्डेजले बराबरी गोल फर्काए। नेमान्जा माटिकको क्रस पासमा गोल गर्न सफल भएका थिए। घरेलु टोलीविरुद्ध बल पोजेसन राखेपनि युनाइटेडले गोल गर्न अवसर बनाउन सकेको थिएन।

९०औं मिनेटमा ब्रुनो फर्नान्डेजको प्रहारलाई एभर्टन तथा इंग्ल्यान्डका पहिलो रोजाईका गोलरक्षक जोर्डन पिकफोर्डले बचाउदै सम्भावित हार टारेका थिए।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा कलभर्टले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा जितबाट वञ्चित बन्यो। उनी अफसाइड ठहरिए।

यस्तै खेल सकिएपछि रेफ्रीले एभर्टनका प्रशिक्षक कार्लो एन्सोलोटीलाई रातो कार्ड देखाएका थिए। रेफ्रीसँग अपशब्द बोलेपछि उनलाई रातो कार्ड देखाईएको थियो।  

बराबरीसँगै म्यानचेस्टर युनाइटेड २८ खेलबाट ४२ अंक जोडेर पाँचौ स्थानमा यथावत छ। एभर्टन ३७ अंक जोडेर ११औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-03-02 21:07:27

प्रतिकृया दिनुहोस्