प्रियंकाकाे दोस्रो विवाह: अब त सकियो कि ‘चटक’?

बिएल संवाददाता

काठमाडाै‌ं

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी अब दम्पति भएका छन्। पहिलो विवाह तोडिएको ८ वर्षपछि प्रियंकाले धुमधामसँग दोस्रो विवाह गरेकी हुन्।

प्रियंकाले २२ वर्षको उमेरमा रोचक मैनालीसँग प्रेम विवाह गरेकी थिइन्। त्यतिबेला सामान्य तरिकाले वैवाहिक जीवनमा बाँधिएकी उनले दोस्रो विवाहचाहिँ निकै धुमधामले गरेर धोको पूरा गरिन्। 

उनले नायक आयुष्मानसँग शुक्रबार बुढानिलकण्ठस्थित पार्क भिलेज रेस्टुरेन्टमा लगनगाँठो कसेकी थिइन्। यसअघि नै उनीहरुले कानुनी विवाह भने गरिसकेका थिए।

आयुष्मान बैंकर रविना देशराजका छोरा हुन्। उनी प्रियंकाभन्दा ६ वर्ष कान्छा छन्। २७ वर्षीय आयुष्मानको चाँहि यो पहिलो विवाह हो।

केही वर्ष प्रेमसम्बन्धमा रहेर विवाह गरेका यी दुई नेपाली चलचित्र क्षेत्रका चर्चित जोडी हुन्। एउटा अवार्ड समारोहमा खुल्लमखुल्ला चुम्माचाटी गरेपछि यो जोडीको प्रेम मिडियामा छताछुल्ल पोखिएको थियो। सामाजिक सञ्जालमा अन्तरंग तस्वीर पस्केर रमाउने यो जोडी त्यही कारणले टोल भैरहेको हुन्छ।  

विवाहअगाडि भएका मेहन्दी, व्याचलर्स पार्टी अनि अरु कार्यक्रमले यो विवाहलाई धेरैको चासोको केन्द्रमा राखेको थियो। बिहेको केही दिन अगाडि प्रियंका ‘ब्याचलर पार्टी’ गर्न थाइल्यान्ड पुगेकी थिइन्। यता, डिभोर्सी महिलाले उछृङ्खल तरिकाले ‘ब्याचलर’ पार्टी मनाएको भन्दै उनको थप ट्रोल भयो। प्रियंका आफैंले इन्स्टामा सार्वजनिक गरेका ब्याचलर पार्टीका उत्तेजक तस्वीर एवं भिडियो ट्रोलका खजाना भैरहे।

आयुष्मानले पनि प्रियंकाका केटी साथीहरुकै पोज र ड्रेसअपमा आफ्ना केटा साथीसित ब्याचलर पार्टीको फोटोसेसन गरेर आफैंलाई हाँसोको पात्र बनाए। 

भारतीय संस्कारमा बिहे

प्रियंकाको विवाहमा भारतीय पहिरन र संस्कारमा भएकाे छ। बिहेमा प्रियंका र आयूष्मान दुवै भारतीय पहिरन र श्रृंगारमा देखिए। प्रियंकाले विहेमा लहेंगा लगाएकी थिइन्। सेरवानी लगाएका आयूष्मानले टाउकोमा पगडीसमेत भिरेका थिए। 

विवाहको दुई दिन अगाडि ‘मेहेन्दी समारोह’ प्रियंकाले भारतीय शैलीमा गरिन्। बिहेअघि मेहेन्दी लगाउने प्रचलन भारतीय हो। यसमा दुलाहा पनि उपस्थित हुने प्रचलन छ। तर, नेपालमा भित्रिन पाएको थिएन, प्रियंकाले भित्र्याइन्। प्रियंकाको मेहन्दी समारोहमा आयूष्मान पनि उपस्थित भए।

त्यसैगरी, प्रियंकाले भारतीय शैलीमै म्युजिक सेरिमोनी पनि आयोजना गरिन्।

प्रिय‌ंकाकी आमा रक्षा मलहोत्रा पञ्जावी हुन् । प्रियंकाले भारतीय संस्कार रोज्नुमा आमाको प्रभाव हुन सक्छ। यता, आयुष्मानकी आमा रविना पनि लामो समय भारतमा बसेर पढेकी हुन्। यी दुबै आमाहरू डिभोर्सी हुन्।

प्रियंका र आयुष्मानले विवाहका नाम गरेका कतिपय क्रियाकलापलाई सामाजिक सञ्जालमा चटकका रूपमा हेरिएको छ। केहीले त प्रश्न पनि गरेका छन्, अब त सकियो कि चटक ? 

 

प्रकाशित मिति: : 2020-03-02 20:12:23

प्रतिकृया दिनुहोस्