नेपाल भ्रमण वर्ष २०२० लाई कोरोना भाइरस लागेको छ। कोरोना भाइरसको कारण देखाउँदै सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेपछि यसो भन्नु परेको हो।
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनुपहिले आइतबार साँंझ बसेको ओली मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।
प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने प्रस्ताव गर्दै सन् २०२२ मा नेपाल भ्रमण वर्ष मनाउने प्रस्ताव गरे। उनकै प्रस्तावअनुसार नेपाल भ्रमण वर्ष २०२० मिडप्याक गरिएको हो ।
सरकारले यो निर्णय गर्नुअघि नै नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले सन् २०२० को मार्च महिनामा स्वदेश तथा विदेशमा गरिने नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार कार्यक्रम स्थगन गर्ने निर्णय गरेका थिए।
त्यसलगत्तै सरकारले नेपालमा अन अराइभल भिसा नदिने र नेपाल भ्रमणमा आएका पर्यटकले निरोगिताको प्रमाण प्रस्तुत गर्नुपर्ने निर्णय गरेको थियो । यो निर्णय पनि नेपालमा पर्यटक आउनको लागि निरूत्साहित गर्ने खालकै निर्णय थियो।
चिनिया पर्यटककै ठूलो भर परेर २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ ठूलो तामझाम र खर्चका साथ सुरू गरिएको नेपाल भ्रमण वर्ष २०२० कोरोना भाइरसका कारण चिनिया पर्यटकलाई नै नआउ भन्नुपर्ने स्थितिमा पुगेपछि यो सफल हुने कुरै थिएन। त्यसैले सरकारले यसलाई बिचैमा स्थगित गर्ने निर्णय गर्नुपरेको बताइन्छ।
यो निर्णयसँगै ओली सरकारको एउटा टकिङ पोइन्ट पनि सकिएको छ।