होमस्टेको तालिमपछि जेलबाङीको प्रतिवद्धताः हामी पाहुना स्वागत गर्न आतुर छौं

रोल्पाको सुनछहरी गाउँपालिका-७ जेलबाङमा एक हप्ते घरबास (होमस्टे) तालिम सम्पन्न भएको छ।

फागुन ६ गते देखि सुरू भएको तालिममा ४१ जना महिला/पुरूषको सहभागिता थियो।

तालिम समापन पछि बोल्दै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्ठान (नाथम) का प्रशासकीय अधिकृत शिव प्रसाद जैशीले इमान्दार स्थानीय, रमणीय ठाउँ, मौलिक संस्कृति र इतिहास बोकेको जेलबाङमा होमस्टे तालिम दिन पाएकोमा खुसी व्यक्त गरे।

सहभागी प्रशिर्थीलाई शुभकामना दिँदै उनले होमस्टेले तालिमबाट सिकेको शिपले पाहुनालाई मिठो परिकारको खाना, अतिथि सत्कार र उपयुक्त वसोवास मिलाएर स्वागत गर्नुपर्ने बताए।   

पर्यटन प्रवर्धन तथा गेमी होमस्टे, जेलबाङका अध्यक्ष पृथ्वी पुनले तालिम अत्यन्तै फलदायी भएकाले हाल पाँच वटा घरमा सञ्चालित होमस्टे आगामी दिनमा बिस्तार गरेर १२ घरसम्म पुर्‍याउने लक्ष्य रहेको बताए।

उनले  अब जेलबाङ आन्तरिक तथा वाह्य पर्यटकलाई स्वागत गर्न आतुर रहेको स्मरण गराए।

नाथमका प्रशीक्षक तथा तालिम संयोजक विपिन नेपालले प्रशिक्षार्थीलाई बधाई दिँदै तालिमभर सिकेको मिठो बोलि, सफा सुग्घर, साथै गाउँघरकै उत्पादनलाई विभिन्न परिकार बनाई, स्वच्छ तरिकाले पस्कने र बास बस्ने बारेको ज्ञानलाई होमस्टे सञ्चालकले पालना गर्नुपर्ने बताए।

त्यसैगरी सुनछहरी गाउँपालिका ५ का वडाध्यक्ष टिका बहादुर पुनले होमस्टेको सिप र ज्ञान व्यवहारमा लागू भएपछि स्थानीयको आयस्रोत वृद्धि गर्न मद्दत पुग्ने बताए।  

सोही कार्यक्रममा बोल्दै समाजसेवि, वुद्धिजिवी तथा अग्रज चन्द्र बहादुर बुढामगरले उमेर र युगसँगै जमाना अनुसार शिप र पेशा अंगाल्दै अगाडि बढ्न सुझाव दिए।

होमस्टे तालिममा हासिल गरेको ज्ञान व्यवहारमा उतार्नुपर्ने उनको सुझाव थियो।

समापन कार्यक्रममा सुनछहरी गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि आस वहादुर पुन (रक्तिम)ले शान्त , सुख र समृद्ध नेपाल बनाउन आर्थिक वृद्धिको लागि पर्यटन एक गतिलो माध्यम भएको बताए।

उनले होमस्टे तालिममा सिकेको शिप र ज्ञानले आगन्तुकलाई स्थानीय अर्गानिक परिकार पस्किँदै, अतिथि सत्कारबाट स्थानीयले आम्दानी गर्न मद्दत पुग्ने बताए।

उनले तालिमले प्राप्त शिप र ज्ञानले प्रशिक्षार्थीको क्षमता वृद्धि र चेतनाकोसमेत विकास हुने विश्वास गरे।

तालिममा सेरम, गाम,  सिउरी, जयमाकसला, फगाम, जेलबाङ लगायतबाट प्रशीक्षार्थी सहभागि थिए।

तालिममा ब्रेकफास्ट, डिनर, र लञ्चको परिकारहरू बनाउन सिकाइएको थियो।

यस्तै सरसफाई, पाहुनाको आतिथ्य र सत्कार गर्ने शैद्धान्तिक ज्ञान तथा अर्गानिक खानाको परिकार पकाउने शिप सिकाईएको थियो।

अर्गानिक सुप, मासु, ढिँडो, सिस्नु, अण्डाका विभिन्न परिकार पकाउने र पस्किने प्रयोगात्मक विधिसमेत तालिममा  सिकाईएको थियो ।

शसस्त्र द्वन्द्वका क्रममा नेपालमै सबैभन्दा धेरै ७३ जना जेलबाङिले ज्यान गुमाउँदा सुनछहारी गाउँपालिकामा १४० जनाले जनयुद्वमा ज्यान गुमाउनुका साथै कैयौं घाईते र अपांग भएका छन्।

प्राकृतिक र धार्मिक रूपले सुन्दर जेलबाङ मगर समुदायको वाहुल्य र दलित जातिको बसोवास रहेको स्थान हो।

पर्यटनको हिसावले सुनछहरी गाउँपालिकामा इतिहाससँगै प्राकृतिक सौन्दर्य, झरना, ताल, मगर संस्कृति र जीवनशैली, फलाम खानीको अवशेषको अवलोकन गर्न सकिन्छ।

यहाँ गाउँले वातावरणमा होमस्टेमा बास बस्न र अर्गानिक खानपिनको स्वाद लिन सकिन्छ।

जेलवाङमा सडक, सुरक्षा, सञ्चार, खाने पानीको पहुँच पुगेको छ।

स्रोतका अनुसार नाथमले रोल्पा जिल्लामै पहिलो पटक जेलवाङमा होमस्टे तालिम प्रदान गरेको हो।

होटल र पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ ४७ वर्षअघि स्थापित नाथमले होटल व्यवसाय र पर्यटनका क्षेत्रमा विभिन्न तहको शैक्षिक अध्ययन, अध्यापन तथा तालिम सञ्चालन गर्दै आएको नाथमका प्रमुख प्रशीक्षक मनराजा खत्रिले जानकारी दिए। हालसम्म संस्थाले करिब ४८ हजार जनशक्ति उत्पादन गरिसकेको उनले बताए।

प्रदेश नं. ५ अन्तर्गत पर्ने सुनछहरी गाउँपालिकाको जेलबाङ पुग्न काठमाडौंदेखि सुलिचौर सम्म ४५०किमि र सुलिचौरदेखि जेलबाङसम्म २३ किमि कच्ची सडक पार गर्नुपर्छ।

समापन कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाण पत्र दिएको थियो। यस्तै तालिम प्रशीक्षक, पत्रकार र नेचर गाईडलाई पर्यटन प्रवर्धन तथा गेमी होमस्टे, जेलबाङले सम्मान पत्र प्रदान गरेको थियो।

नेपाल मगर संघ प्रदेश नम्बर ५ का इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य कीर्तिमान पुनले जेलवाङले बोकेको जनयुद्वको इतिहास, मगर समुदायको संस्कृति र सौन्दर्यको प्रशंशा गरे।

पर्यटन प्रवर्धन तथा गेमी होमस्टे, जेलबाङको आयोजनामा भएको होमस्टे तालिममा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्ठान (नाथम) रविभवन, काठमाडौंको प्राविधिक सहयोग गरेको थियो।

कार्यक्रमका लागि सुनछहरी गाउँपालिका र वार्ड-७ ले आर्थिक सहयोग गरेका थिए।

हेर्नुहोस् कार्यक्रमका केही तस्बिरहरू

प्रकाशित मिति: : 2020-03-02 07:59:11

प्रतिकृया दिनुहोस्