त्रिभुवन विश्वविद्यालयमा चरालाई पनि 'घर'

सेतोपाटी

काठमाडाैं

समिक्षा अधिकारी

त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र-समाजशास्त्र केन्द्रीय विभाग एक महिनायता हेरूँहेरूँ लाग्ने भएको छ। मानवशास्त्रका विभागीय प्रमुख डम्बर चेम्जोङ र समाजशास्त्रका प्रमुख टीकाराम गौतम यहाँको प्राज्ञिक र भौतिक सुधार गर्न दत्तचित्त छन्। 

उनीहरू दुईको प्रयासमा विभागको रूपरङ फेरिइसकेको छ। कक्षाकोठा रङरोगन, आरामदायी डेस्कबेन्च, व्यवस्थित पुस्तकालय र पठनसामग्री, सफा र सुविधायुक्त शौचालय, बगैंचा सौन्दर्यीकरणदेखि पूरा विभाग परिसर सरसफाइ भइसक्यो।

विद्याआर्जन गर्ने ठाउँको वातावरण सुन्दर बनाउँदै जाने यो प्रयासमा विभागले अर्को इँटा थपेको छ, चराघर।

हो, यहाँ चराचुरूंगीका लागि चराघर बनाइएको छ, जुन 'आइडिया' प्राध्यापक चेम्जोङको हो।

'झलक्क हेर्दा रूखमा चराघर बनाएर त्रिवि परिसरलाई थप सुन्दर बनाउन खोजिएको हो,' चेम्जोङले भने, 'अर्को अर्थमा विश्वविद्यालय परिसर चराचुरूंगीको पनि हो। उसलाई पनि स्थान दिनुपर्‍यो नि।'

त्रिवि परिसर त्यसै पनि हरियाली छ। यहाँ थरिथरिका चरा पाइन्छन्। यी चराचुरूंगी आफ्नो घर आफैं बनाउन सक्छन्। मान्छेले बनाइदिएका कृत्रिम घरमा नबस्न पनि सक्छन्। तै पनि यो ठाउँ चराको पनि उत्तिकै हो भन्ने बुझाउन रूखमै सुरक्षित 'घर' बनाइदिन खोजेको उनले बताए।

'त्रिविका धेरै भवनमा चराका गुँड छन्। चरा हाम्रो घरमा बसेर फोहोर नपारिदिऊन्, रूखैमा फर्किऊन् भनेर घर नै बनाइदिएका हौं,' उनले भने, 'रूखमा घर नै किन बनाइदिएको वा घर बनाएपछि रूखमा किन राखिदिएको, मान्छेले आ-आफ्नो अर्थ लगाउन सक्छन्।'

प्रकाशित मिति: : 2020-03-01 21:56:25

प्रतिकृया दिनुहोस्