सुनछहरी गाउँपालिका–६, फगामका ३८ वर्षका भानसिंह परियारलाई आफ्ना सबै छोराछोरीको नामसमेत थाहा छैन। भानसिंह जस्तै उनकी पत्नी मनसरीले पनि पुरेतले राखिदिएको सबै सन्तानको नाम सम्झेकी छैनन्। दुवैले छोराछोरीलाई घरमा बोलाउने ‐काले, भुन्टी, दाउरी, डल्ले...) नामले मात्रै चिन्छन् र बोलाउँछन्।
दुई गर्भ खेर गएका मनसरीले १४ सन्तान जन्माइन्। जन्मेका मध्ये १३ (सात छोरा र ६ छोरी ) जीवित छन्। गर्भनिरोधक साधनबारे गतिलो सूचना नपाएका कारण धेरै सन्तान जन्मिएको मनसरीले बताइन्। उनी अहिले ४४ वर्षमा हिँड्दैछिन्। उनले १८ वर्षमा पहिलो गर्भधारण गरेकी थिइन्। दुईवटा गर्भ सात महिनामा खेर गएको उनले बताइन्। धेरै सन्तान भएकाले यो परिवारलाई खाना, नाना र छानाको समस्याले पिरोलेको छ।
बच्चा कति जन्माउने, कसरी हेरचाह गर्ने वा परिवारको संरचनाबारे यो दम्पतीले कहिल्यै सल्लाह गरेनन्। सुरुमा जन्मिएका एक छोरी र दुई छोरा बिहे गरेर मजदुरीका लागि पोखरा, बागलुङति गएको मनसरीले बताइन्। उनका अनुसार १३ वर्षका एक छोरा भर्खरै इँट्टाभट्टामा काम गर्न भनेर काठमाडौंतिर गएका छन्। खेल्ने र स्कुल जाने उमेरमा मजदुरी गर्न बाध्य परियार दम्पतीका सन्तानले चाडबाडमा समेत पेटभर रुखोखस्रो खाना खान पाउँदैनन्।