नेपाली रंगमञ्चमा अग्रपंक्तिका कलाकारका रूपमा आउने एउटा नाम हो, लक्ष्मी गिरी । दर्जनौँ फिल्म तथा टेलिफिल्ममा प्रायः ‘छुच्ची’ भूमिकामा देखिने उनी ११ माघ २०१० मा पशुपति क्षेत्रको देवपत्तनमा मुक्तिनाथ पौडेल र उजेली अधिकारीकी एक्ली सन्तानका रूपमा जन्मिएकी हुन् । ११ वर्षकै उमेरमा बाल कलाकारका रूपमा रंगमञ्चमा पाइला टेकेकी गिरीलाई अभिनय यात्रामा अहिलेसम्म पछाडि फर्केर हेर्नु परेको छैन ।
त्यतिबेला काठमाडौंमा मनोरञ्जनको एक मात्र साधन ‘डबली’ थियो । दिनभर खेतबारी, पेशा, व्यवसायबाट थाकेर ‘लोथ’ भएका स्थानीय गीत, नृत्य र नाटक एकैथलोमा पस्कने डबलीमा भेला हुन्थे । सात वर्ष डबलीमा काम गरेर अभिनयमा निखारिएकी लक्ष्मीको उमेर बढेसँगै बिहेको प्रस्ताव लिएर आउनेहरू पनि कम थिएनन् । घरपरिवारबाट जीवन धान्न सहज हुने पेशा समात्न प्रेसर बढ्दै थियो ।
मोडिएको बाटो
‘नहुनेलाई रित्तो हात, हुनेलाई खातैखात’ भनेझैँ अभिनयमै करिअर खोज्दै गरेकी लक्ष्मीलाई नेपालको केन्द्रीय बैंक (राष्ट्र बैंक)बाट जागिर खाने ‘अफर’ आयो ।
अभिनयलाई बिट मार्दै नेपाल राष्ट्र बैंकको नोट विभागमा काम गर्न थालेकी लक्ष्मीले आफ्नो विगत यसरी सम्झिइन्, ‘मेरी हजुरआमा सरकारी नर्स हुनुहुन्थ्यो । उहाँले अवकाश पाउँदै हुनुहुन्थ्यो । उहाँले ‘मेरो नातिनीलाई पनि जागिर दिनुपर्यो’ भनेर नेपाल राष्ट्र बैंकको नोट विभागका म्यानेजर दामोदर दवाडीलाई भन्नु भएछ ।’
उनले अगाडि थपिन्, ‘दवाडी सरको श्रीमती भीमा दवाडी मेरो गुरुआमा हुनुहुन्थ्यो । उहाँले मलाई खुबै माया गर्नुहुन्थ्यो । एकदिन ‘लक्ष्मी, तिमी जागिर खाने हो ?’ भन्दै गुरुआमाले सोध्नुभयो । मैले उहाँलाई ‘नाई’ भन्न सकिनँ । राष्ट्र बैंकमा जागिर खान थालेँ । जागिरको क्रममा नोट विभागमा नोट गन्नेदेखि पुराना पैसा छान्नेसम्मको काम गरेँ ।’
बैंकको जागिरलाई त्यतिबेला पनि प्रतिष्ठित मानिन्थ्यो । बैंकमा जागिर खान थालेपछि घरमा बिहेको कुरा आउने क्रम बढ्यो । यता लक्ष्मीको भने अफिस आउजाउ गर्दा आँखा जुध्ने केटो (रत्नकुमार गिरी)को व्यक्तित्वले मन चोरेको थियो । रत्नकुमार गिरी शिक्षक थिए । उनी पढाउन जाने बाटो र लक्ष्मी बैंक जाने बाटो एउटै थियो ।
बाटोमा एकअर्काबीच ‘हेराहेर’ भइरहन्थ्यो । आक्कल झुक्कल हुने हेराहेर मायामा परिणत हुन धेरै बेर लागेन । लुकिछिपी बसेको माया पारिवारिक सहमतिमै २०३० सालमा बिहेमा बदलियो ।
बिहेपछि पनि लक्ष्मीलाई आफ्नो करिअर अघि बढाउन कुनै अप्ठ्यारो भएन । किनभने, उनका श्रीमान् पढेलेखेका थिए । घरपरिवार पनि बुझ्ने खालको थियो ।