अमेरिका र अफगानी तालिवान समूहबीच शान्ति सम्झौतामा हस्ताक्षर

संयुक्त राज्य अमेरिका र अफगानिस्तानको तालिवान समूहबीच शनिबार शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । 

सम्झौताका लागि अमेरिकाको तर्फबाट विदेशमन्त्री माइक पोम्पेओ र तालिवानी समूहका नेताहरू कतारको राजधानी दोहा पुगेका थिए । 

सम्झौतापछि अमेरिका र उसका सहयोगी राष्ट्रहरूद्वारा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)अन्तर्गत अफगानिस्तानमा कार्यरत सम्पूर्ण सैनिकलाई आगामी १४ महिनाभित्र अफगानिस्तानबाट फिर्ता लैजाने सहमति भएको अमेरिका र अफगानिस्ताद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

‘सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा तैनाथ आठ हजार ६०० सैनिकलाई आगामी एकसय ३५ दिनभित्रमा पहिलो चरणमा फिर्ता लगिने छ भने अमेरिका र उसका सहयोगीले बाँकि सबै सैनिकलाई १४ महिनाभित्र फिर्ता लैजाने छन्, विज्ञप्तिमा भनिएको छ । 

सम्झौता अनुसार अफगानी विद्रोहीको प्रभाव क्षेत्रमा अलकायदा तथा अन्य अतिवादी इस्लामिक समूहका गतिविधि नियन्त्रणमा तालिवान समूहले सरकारलाई सहयोग गर्नेछ ।

दोहा सम्झौताले विगत १८ वर्षदेखि अफगानिस्तानमा तैनाथ भै लड्दै आएका हजारौँ अमेरिकी सेनालाई फिर्ता हुने वातावरण मिलेको छ । अफगानी तालिवान समूहले आगामी दिनमा हिंसा नगर्ने र अमेरिकी सेनाको सहयोग प्राप्त अफगान सरकारले पनि तालिवान समूहलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरी शान्तिका लागि काम गर्नेछ । 
 

प्रकाशित मिति: : 2020-03-01 08:53:47

प्रतिकृया दिनुहोस्