नरेन्द्रराज प्रसाई
अमेरिकामा एकजना गरिब राष्ट्रपति भए। तिनै लिंकनको जीवनी पढेर धेरै प्रेरित थिए। एउटा सडे–गलेको देश काँधमा बोकेर माओत्से तुङले चीनलाई विश्वकै समृद्ध मुलुक बनाए। छिमेकका तिनै माओको विचार पढेर धेरै नेपाली कम्युनिस्ट पनि भएका थिए। २०२५ सालअघि नन्दकुमार प्रसाईंकै समेत रापले आठराई लालकिल्ला बनिसकेको थियो। आज नन्दकुमारले समेत खड्गप्रसाद शर्मा वलीलाई नेता मान्न थालेको देखियो।
जुन बेला नन्दकुमारको नाउँ प्रायः हरसाँझ पेकिङ रेडियोले फुक्थ्यो, त्यस बखत खड्गप्रसादको राजनीतिमा नामै थिएन, हैसियतै थिएन र कुनै योग्यता नै थिएन। उनको परिचय थियो भने उनी गरिब थिए, गरिब मात्र होइन उनी तन्नम नै थिए। धुलोबाट उठेर पनि एकजना गरिब नागरिक मुलुकको प्रधानमन्त्रीको सिंहासनमा पुग्दा धेरैलाई गौरबीबोध हुनुपर्छ। वास्तवमा त्यस स्तरबाट आएका मान्छेले नै जनता र देश बुझ्न सक्छ। वनको काँडा तिखार्नै पर्दैन, त्यो आफैँ तीखो हुन्छ, तर खड्गप्रसादको हकमा त्यो कुरा किन लागू भएन ? यो एउटा अनुसन्धानको विषय भएको छ।