मानिस खड्का
धर्तीमा म जन्मेको दिन ठूलो जहाज खस्यो। धेरै मान्छे मरे। साउनको महिना, ठूलो झरी पर्यो, मान्छेका आँसु त्यही झरिले बगायो। झरीसँगै बगेका आँसुको कसले मतलब गर्ने! दुनियाँ आँसुमा डुबे पनि म खुसी थिएँ। मैले यस धर्तीमा जन्म लिन पाएको थिएँ। मैले संसार देख्न पाएँ। आमालाई धन्यवाद, यस्तो दुःखद् घडीमा पनि मलाई जन्म दिइन्। आकाश मडारियो। धर्ती पानीले भरियो।
खोलापारिको जंगल हरियो भयो। जंगलभरि अनेक झार उम्रे। म पनि झारसँगै उर्मेँ। हुर्केँ। बढेँ। दौडेँ। म जन्मेपछि आमाले नौलो चिज चाखिन्, गड्यौंलाको झोल। बाले आमालाई जिस्काउन पर्यो भने त्यही गड्यौंलाको झोल सम्झाउँदै जिस्काउँथे। आमासँग ठाकठुक पर्दा पनि सुनाइरहन्थिन्, ‘गड्यौंला खाइखाइ हुर्काको पाजीले पनि धाक लाउँछन्!’ त्यसपछि मेरो मुखमा बुझो लाग्थ्यो।