रेडियो नबजेको साँझ

दुःखीनी बौजु
एक्काइशौ शताब्दीको टल्किने टुकी
अझै पुगेनछ तिम्रो घरमा
छानोमाथि सवार बिजुलीको तार देख्दा
कति पुलपुलाउँदो हो तिम्रा बच्चाहरुको मन्
ति बच्चाहरुलाई के थाहा
अध्यारो घरमा कस्तो छ अभावको कहानी

एकातिर साबुन नदेखेका लत्ताहरुले
गिज्याइरहेछन तिम्रो गरिबीलाई
अर्कोतिर झिँजो आइरहेछ
महङ्गीको बजारबाट

झर्को नमान
तिम्रा बच्चाहरु अरुका जस्ता छैनन्
फाटो लाइदिएका छन्
नखाइदिएर रँगेल्दैनन् साँझ
भोकै भए पनि चुपचाप निदाइदिन्छन्
अध्यारा घर कुनामा गुन्द्रीमाथि सपनाहरु ओढेर

झ्याल बाहीर हेर्दा देख्दैछौ
वरवर निष्पट्ट भएर 
आईरहेछ अध्यारो रात
तिमी बाहेक सरकारी बत्ती बालेर
निदाइरहेका छन् सबै घरहरु
ओटालोमा ओछ्याइएको गुन्द्रीमाथि
मिठो निन्द्रामा घुरिरहेका छन् तिम्रा बच्चाहरू

तिमी दुःखको मलम सोच्दै
बिरहीका भाकाहरु बज्लानकी भनेर
बजाउन खोज्दैछौ साथी जस्तै रेडुवा
देश जस्तै टुट्दै थामिदै 
टुक्रा–टुक्रा भएको छ एरियल
बेहाल सँग छोडेर सीमाना 
चुडालिएको छ तानी
बाँकी रहेको भन्नु त्यही एउटा भोलुम हो
त्यो पनी एकनासले निमोठिरहेकी छौ तिमी
सेल सकिए होलान्
तार चुँडालियो होला
नभए खराब भयोहोला रेडुवा
खराब भएको रेडुवाले 
बुझाउन सक्दैन गरिबहरुको मन
दुखिनी बौजु भैगो
ननिमोठ रेडुवाको भोलुम 
बच्चाहरु बिउँझीन सक्छन्।

प्रकाशित मिति: : 2020-02-29 22:15:00

प्रतिकृया दिनुहोस्