स्वेच्छा राउत
'गौंथली इन्टरटेन्मेन्ट गुगल गर्दै आउनुस् न भाटभटेनी नजिकै छ'
अभिमन्युको सुझाव अनुसार गुगल म्यापले गाइड गर्दै पुर्यायो, भाटभटेनी मन्दिरबाट पश्चिमतिर रहेको एउटा सानो गल्ली। गल्लीको पुरानो घर छाडेर भित्र पुगेपछि ढोकैमा देखा परे उनी। पछाडितिरबाट भित्र छिर्ने बाटो बनाएका रहेछन्।
दुई दिनपछि फिल्म सार्वजनिक हुँदै थियो। त्यही मनोदशाले सताइरहँदा हाम्रो भेट भइरहेको छ। उनको कार्यालयको भेट कक्षको भुईँमा असरल्ल छरिएका सामान थिए। भित्तामा रङ्गीचङ्गी फोटो, सर्टिफिकेट, खाजाको सूची, फिल्मका पोस्टर अनि 'कोटेसन'। चिया पकाउने सरसामानसँगै मदिराको बोतल पनि।
कार्यालयमा पुगेका हामीलाई 'ग्रीन टी' दिँदै फिस्स हाँसे र बोले, ‘हाम्रो त यस्तै छ।’
उनको दिमागमा कुराहरु खेल्दै थिए, सायद्। तनाव नहोस् पनि कसरी? वर्षौ अघिदेखि गरेको कामको नतिजा सार्वजनिक हुँदैछ। दर्शक कति होलान्? प्रतिक्रिया के आउँला?
केही बेर नै सही त्यो तनाव भुलाउने गज्जव बहाना बन्यो - फिल्म निर्माण प्रक्रिया सम्बन्धी कुराकानी। उनले खुब रौसिदै सुनाए 'बर्दिया सुन्दरी' बनाउँदाको कथा। अनि फिल्म बनाउने समूह बन्नुको कथा पनि।
उनी अर्थात् अभिमन्यू दीक्षित, निर्माता/निर्देशक।
अल्टरनेटिभ फिल्म बनाइरहनु भएको थियो। यो चाहिँ कस्तो हो?
प्रश्न झर्न नपाउँदै फिस्स हाँस्दै अभिमन्युले भने, 'खोइ! गीत पनि टन्नै छ।'
उनले वाक्य पूरा नगरे पनि फिल्म मुलधार हो भन्ने संकेत गरिरहेका थिए।