'भान्जा, दिदी बित्नुभयो।'
आफ्ना काइँला मामाले यो खबर सुनाउँदा प्रेम गुरुङ कोरियामा थिए। खबर सुनेको निकै बेरसम्म उनी मूर्तिझैं भए। कामिरहेको गोडामा घोप्टिएर भक्कानिए।
आमालाई नदेखेको दुई-चार वर्ष होइन, पन्ध्र वर्ष भइसकेको थियो। यो यथार्थले उनको मन झनै पोल्यो।
प्रेम त्यसअघि दमको रोगी आमालाई ढिलै भए पनि नेपाल फर्केर भेट्ने बलियो विश्वासमा थिए। सन् २००७ को त्यो घटनाले उनको विश्वास काँचो धागोझैं चुँडियो। परदेशी भूमिमा उनको मन काटिएको चंगाझैं निरीह बन्यो।