अमेरिकामा कुकुरलाई बनाइयो मेयर, न्यायाधीशले खुवाए सपथ

अमेरिकाको जर्जटाउन सहरमा एक कुकुरलाई मेयर बनाइएको छ। उक्त सहरमा पार्कर नामक कुकुर मेयर बन्न सफल भएको हो।

गत फेब्रुअरी ११ मा छनोट बोर्डका सदस्यहरुले मतदान मार्फत पार्करलाई सहरको मेयरमा निर्वाचित गरेको थियो। मेयरमा निर्वाचित कुकुरलाई बुधबार जर्जटाउन सामुदायिक केन्द्रमा आयोजित विशेष समारोहका बीच न्यायाधीश लिनेट केल्सीले सपथ खुवाएका हुन्।

कुकुरको सपथ ग्रहण समारोहमा स्थानीय बासिन्दाहरु तथा कुकुरप्रेमीहरु समेत सहभागी भएका थिए। सपथसँगै मेयरको पदभार ग्रहण गर्नका लागि पार्कर पूरा पहिरनमा समारोहस्थल पुगेको थियो।

समारोहका क्रममा पार्करले टाई तथा क्याप र चश्मा लगाएको थियो। क्लीयर क्रिक काउन्टीले आफ्नो फेसबुक पेजमा उक्त समारोहका तस्वीर शेयर गरेको छ। त्यस्तै कतिपय तस्वीरहरु उक्त कुकुरको इन्स्टाग्राम पेजमा पनि शेयर गरिएका छन्।

यसअघि अमेरिकाकै क्यालिफोर्निया प्रान्तमा रहेको इडिल वाइल्ड शहरमा पनि मानिसहरूले कुकुरलाई मेयर छानेका थिए। मेयर चुनावमा ब्वाँसो, गधा र बिरालो पनि उठेका थिए। 

म्याक्सिमम मुलर नामक कुकुरलाई मेयरका सबै सुविधा उपलब्ध गराइएको छ।  गोल्डन रिट्रीभर प्रजातिका मेयर म्याक्सको नाममा आधिकारिक फेसबूक आईडी पनि छ। म्याक्सलाई गाडी पनि दिइएको छ। म्याक्सका भाइ माइकी र बहिनी मित्जीलाई उपमेयर बनाइएको थियो। 

नयाँ मेयरको मुख्य जिम्मेवारी पर्यटकहरू, स्थानीयहरू र मिडियासँग फोटो खिचाउने र शहरमा हुने कार्यक्रममा उपस्थिति जनाउनुपर्ने हुन्छ। कुकुर आधिकारिक कर्मचारी हैन। उसलाई प्रतीकात्मक रूपमा छानिएको हो। जनावरप्रति मानिसको सहानुभूति बढाउने पहलका रूपमा यसो गरिएको छ।

पैसाको कमीका कारण जनावरको संरक्षण गृहलाई बचाउनका लागि यो तरिका अपनाइने गरिन्छ। 

प्रकाशित मिति: : 2020-02-22 23:47:41

प्रतिकृया दिनुहोस्