छुई प्रथा अन्त्यका लागि महायज्ञ

जुम्लामा छाउपडी (छुई) लगायत कुरीति, कुसंस्कार विरुद्ध महायज्ञ गरिएको छ।

शुक्रबार जुम्लास्थित नेपाली सेनाको खेल मैदान टुडिदेलमा उक्त महायज्ञ सम्पन्न भएको हो।

प्रायः धार्मिक गतिविधि सञ्चालन गर्न, चन्दा संकलन गर्न लगायत गतिविधिमा गरिने महायज्ञ यसपटक छुई प्रथा हटाउनका लागि गरिएको जुम्लाकी सिडिओ दुर्गा बञ्जाडेले बताइन्। 'महिनावरी चक्रलाई लिएर घरभित्र पस्न नहुने सामाजिक अन्धविश्वास, कुरीति र कुसंस्कार हटाउन गरिएको महायज्ञले मानसिकता परिवर्तनमा भूमिका खेल्ने विश्वास लिएकी छु,' उनले भनिन्, 'अब कुनै पनि हालतमा महिला दिदिबहिनी गोठमा बस्ने दिन नआओस भन्ने महायज्ञको ध्येय छ।'

बाचक रमानन्द आचार्यले छाउपडी लगायत कुरीति, कुसंस्कारलाई महायज्ञमार्फत स्वाहा गरिएको बताए। 'लाखौं दान दिएर पुण्य कमाउनुभन्दा आम नागरिकको जीवनमा सुधार ल्याउन साझा संकल्प गर्नु नै ठूलो पुण्य हो,' उनले भने, 'महायज्ञले महिला दिदिबहिनीहरुको मानसिकता परिवर्तन गर्न भूमिका खेल्नेछ भने कसैले पनि कुरिति मान्नु हुँदैन भन्ने सन्देश प्रवाह गर्नेछ।'

कर्णाली प्रदेश सांसद पदम बहादुर रोकायाले छुई स्वभाविक मासिक चक्र भएको र यसको धर्मसँग कुनै सरोकार नभएकोले अब पनि कुरीति बचाइराख्दा निकै ढिलो हुने बताए। उनले भने, 'महायज्ञमार्फत कर्णालीमा छुइ प्रथा अन्तको बाटो खुलेको छ।' 

चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले छाउपडी अन्त्यका लागि महायज्ञ सञ्चालन हुनुले ठूलो महत्त्व राख्ने बताइन्। 'मैले कहिले पनि छुई मानिनँ। अब मेरो संकल्प नगरपालिकालाई छुईमुक्त बनाउने रहेको छ,' उनले भनिन्।

महायज्ञमा जिल्लाका आठवटै स्थानीय तहबाट सहभागिता थियो। त्यस्तै यसअघि हरेक स्थानीय तहमा नियुक्त गरिएका छाउपडी दूतहरूको समेत सहभागिता थियो।

महायज्ञमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरूङ, प्रतिनिधि सभा संसाद गजेन्द्र महत, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, लगायत अतिथि सहभागी हुने कार्यक्रम रहे पनि प्रतिकुल मौसमका कारण सहभागी नभएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित मिति: : 2020-02-22 08:21:02

प्रतिकृया दिनुहोस्