ट्रम्पका पूर्वसल्लाहकार स्टोनलाई ४० महिना जेल, स्टोन दोषी हुने ट्रम्पका छैटौ सल्लाहकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अर्का एक पूर्वसल्लाहकार जेल पठाइएका छन्। यसपटक जेल जाने उनका सल्लाहकार रोजर स्टोन हुन् । ६७ वर्षिय रोजरलाई ४० महिना जेल र २० हजार डलर जरिवाना गरिएको छ। 

गत नोभेम्बरमा अमेरिकी संसदमा झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोगमा उनी दोषी पाइएका थिए। त्यही दोषका लागि उनलाई सजाय सुनाइएको हो ।

सजाय सुनाउने न्यायाधीश एमी बर्मन ज्याक्सन हुन्। उनले निर्णय सुनाउने क्रममा स्टोनले आफूलाई धम्क्याएको खुलासा मात्र गरिनन्, राष्ट्रपति ट्रम्पले यस मुद्दालाई लिएर ट्विट गरेकोमा खुलेरै उनको आलोचना पनि गरिन्।

यसैबिच नभादा ककसको पूर्वसन्ध्यामा चुनावी क्याम्पेनका लागि त्यहाँ पुगेका राष्ट्रपति ट्रम्पले यस निर्णयलाई लिएर असन्तुष्टी प्रकट गरेका छन्। उनले नाम नै लिएर न्यायाधीश एमीको आोलचना गरेका छन्। उनले एमी ट्रम्प विरोधी कार्यकर्ता भएको बताउँदै यो निर्णय न्यायिक नभएको बताए। 

तर, यसमा उनले प्रक्रिया अगाडि बढ्न दिने र कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताए। उनले स्टोनलाई आममाफी दिने बारेमा पनि आफूले नसोचेको बताए। 

स्टोनले सन् २०१६ को चुनाव जिताउन प्रतिद्वन्दी हिलारीका इमेल लिक गराउन विक्लिक्ससँग डिल गरेका थिए। तर, उनले त्यससम्वन्धमा सोधिएको प्रश्नमा कंग्रेसलाई पटक पटक ढाँटेर कानूनको फन्दामा परेका थिए। 

ढाँटेर उनले आफ्ना साथी ट्रम्पलाई त सजिलो बनाइदिए तर आफैं भने जेल जानुपर्ने अवस्थामा पुगे।

स्टोनको मुद्दामा सुरूमा सातदेखि नौ वर्षसम्म जेल सजायको माग गर्दै मुद्दा अगाडि बढाइएको थियो । तर, त्यसमा राष्ट्रपति ट्रम्पलेआपति जनाएपछि महान्यायाधीवक्ता बरले त्यसमा संशोधन गर्ने प्रस्ताव गरे। त्यो प्रस्तावबाट असन्तुन्ट अभियोजनकर्ताहरूले पदबाटै राजीनामा दिएका थिए। 

सन् २०१६ मा ट्रम्पको चुनावी अभियानलाई सघाउन रुसले प्रयत्न गरेको पाएको अमेरिकी न्याय मन्त्रालयको अनुसन्धानसँग जोडिएका स्टोन ट्रम्पका छैटौँ सल्लाहकार हुन् ।

प्रकाशित मिति: : 2020-02-21 21:35:59

प्रतिकृया दिनुहोस्