नैतिकताको 'फन्दा' बाँस्कोटासम्म मात्र कि ओलीसम्म पनि पुग्ने हो ?

नेपालको कम्युनिष्ट नेतृत्व कस्तो छ ? त्यसको दृष्टान्त हेर्न टाढा जानै पर्दैन। केही समयअघि कृष्णबहादुर महराले देखाएको ऐेनाको अर्को पाटा भर्खरै गोकुल बाँस्कोटाले देखाएका छन्। महराले नैतिक पतनको ऐेना देखाए, बाँस्कोटाले भ्रष्ट आचारको ऐेना। 

यी त नेपालको पछिल्लो कम्युनिष्ट नेतृत्व र चरित्रका प्रतिनिधि पात्र मात्र हुन्, जसले जति लुट्न सकेका छन्- लुटेकै छन्। अपवाद बाहेक कसैले छोडेका छैनन्, प्रकाशमा नआउँनु अर्कै कुरा हो। ढिलो चाँडोको कुरा मात्र हो, आशा गरौं समयक्रममा त्यो पनि उजागर हुँदैजाला। 

मैले भन्ने गरेको छु, अपवादलाई छोडेर नेपालका कम्युनिष्ट तथाकथित कम्युनिष्ट हुन्। वर्गीय चेत नभएका  नेपालको कम्युनिष्ट नेतृत्व उनीहरूकै भाषामा पूर्णत: पेटिब्रुजुवा छ र यिनीहरू अवसर नपाएर मात्र कम्युनिष्ट भएका हुन्। त्यो अवसर लुट्ने, नातावाद-कृपावाद गर्ने, अनैतिक काम गर्नेलगायत जे पनि हुन सक्छ। उनीहरूले भन्ने गरेको मार्क्सवाद, लेनिनवाद, माओवाद हुदैँ समाजवाद-साम्यवाद त देखाउने दाँत मात्रै हुन्। कुनै समय आफू पनि त्यही स्कूलिङको एक विद्यार्थी भएकाले भोगाइ र अनुभूतिका आधारमा म यति कुरा ढुक्कसँग भन्न सक्छु।

खासगरी नेपालको कम्युनिष्ट नेतृत्वलाई नजिकबाट हेर्ने हो भने उनीहरूमा मार्क्सवादले अंगिकार गरेको लेस मात्र चरित्र पनि छैन। कसैका लागि यो मित्थ्या आरोप मात्र पनि लाग्न सक्छ। तर, यसका लागि सयौं हैन, हजारौं दृष्टान्त दिन सकिन्छ। 

यसको अर्थ नेपाली कांग्रेसको नेतृत्वचाँहि योभन्दा फरक छ, त्यो हैन। अहिले सत्ताबाहिर छ र यस्तो मौका पाएको छैन। सत्ताबाहिर हुनु नै उसलाई अहिलेका लागि वरदान  भएको हो। 

प्रसङ्ग निवर्तमान मन्त्री गोकुल बाँस्कोटाको हो। उनको ७० करोडको अडियो सेटिङ बाहिरिएको छ। १६ महिनाअघि एक स्विस कम्पनीका दलालसँग मन्त्रालयमै भएको कुराकानीको त्यो अडियोलाई उनले आफ्नौ हैन भन्न सकेनन् र नैतिकताको आधार देखाएर 'मिडप्याक' गरे। अलिकति ठाउँ भएको भए उनी दुक्की दाउमा पनि चल्ने मान्छे हुन्। ओली पाइनमा मन्त्री भएपछि उनको लोली र बोलीका थुप्रै बाइट र कोट त्यसका ज्यूँदा साक्षी छन्। 

उनको राजीनामापछि बाँस्कोटा अध्यायको अन्त्य भएको हैन, सुरू भएको हो। यो प्रकरणमाथि मात्र हैन, उनका यस्ता सबै विवादास्पद नियुक्ति र प्रकरणका बारेमा छानबिन हुनुपर्ने गतिलो आधार मिलेको छ। त्यसमा पनि चिनिया कम्पनी जेडइइले पाएको फोरजी ठेक्का प्रकरणका बारेमा गम्भीर छानबिन हुनुपर्ने देखिएको छ। यी छानबिनहरू  मरेको बाघको जुङा तान्नलाई हैन, सत्य उजागर गर्न र आगतको 'बाँस्कोटा प्रवृति' फेरि नदोहोर्याउन गतिलो पाठ होस् भनेर गरिनुपर्ने भएको हो।

जगजाहेर छ, गोकुलको रजाइँ हुनमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको हात छ। उनको यो स्तरको बार्गेनिङको हैसियत बन्नमा ओलीको पूरापूर साथ छ। यो प्रोक्सिमिटी थाहा पाएकाहरू उनले गर्ने हरेक सेटिङमा ओलीको समेत समर्थन रहेको आशंका गर्छन्। ओलीलाई जानकारी नदिई या विश्वासमा नलिई उनले ७० करोड सेटिङ गरे भन्नेमा विश्वास गर्नेको संख्या साह्रै थोरै छ। ओलीको एक छत्र राज चलेको बेला यस्तो दुस्साहस बाँस्कोटा बाहेक अरूले गर्नै सक्दैनन्। 

त्यसैले अब राजिनामा बाँस्कोटामा गएर टुंगिने हैन कि त्योभन्दा माथि पनि जानुपर्छ भन्नेहरूको संख्या पनि बढ्दो छ। बाँस्कोटालाई आजको बाँस्कोटामा बनाउनमा प्रधानमन्त्री ओलीको एकलौटी हात रहेकाले पनि यसो भनिनु अन्यथा मान्न सकिन्न। ओलीको हात बाँस्कोटासम्म मात्र सिमीत छैन, यति प्रकरणमा घुमिफिरी उनकै हात संलग्न रहेको पनि पटकपटक देखिएकै हो। 

ओलीको 'यति-प्रेम' सडक, सदन, पार्टी, सरकार, मूलधार र सााजिक सञ्जाल सर्वत्र प्रश्नको घेरामा परेको हो र यसमा उनले यो वा त्यो नाममा चोथाले जवाफ पनि फर्काउँदै आएका हुन्। 

अवस्था यस्तो भए पनि सुशासन र भ्रष्टाचारविरोधी शुन्य सहनशिलताका बारेमा बाँस्कोटा र ओलीले प्रशस्तै बाइट र कोट बनाएका छन् ? तर, अहिले ती बाइट र कोटहरू उनीहरूकै खिसिट्युरीमा फालिम लागिरहेको अवस्था सिर्जना भएको छ ।

जगजाहेर छ, गोकुलको रजाइँ हुनमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको हात छ। उनको यो हैसियत बन्नमा ओलीको पूरापूर साथ छ। यो प्रोक्सिमिटी थाहा पाएकाहरू उनले गर्ने हरेक सेटिङमा ओलीको समेत समर्थन रहेको आशंका गर्छन्। ओलीलाई जानकारी नदिई या विश्वासमा नलिई उनले ७० करोड सेटिङ गरे भन्नेमा विश्वास गर्नेको संख्या साह्रै थोरै छ। 

मानिसहरू भनिरहेका छन्, ओली प्रधानमन्त्री हुन्जेल बाँस्कोटामाथिको छानबिन निस्पक्ष हुनै सक्दैन। उनीहरू के पनि ठान्छन् भने निस्पक्ष छानबिन हुने भए अहिलेसम्म उच्चस्तरीय छानबिन आयोग बनिसक्थ्यो। तर, त्यस्तो आयोग बनेन, त्यसैले पनि उनीहरू शंका व्यक्त गरिरहेका छन्। यस्तो शंका व्यक्त गरिनुमा कतिपयलाई बाँस्कोटा डिलिङमा ओलीको समर्थन रहेको भन्ने लाग्नु नै हो।

यसको पछाडि अर्को पनि कारण भेटिन्छ। त्यो के भने, यो टेप धेरै पहिलेको हो र यो प्रधानमन्त्री ओलीसम्म पनि पुगिसकेको हो । तर, यति संगीन टेप आफूसम्म आइपुग्दा पनि ओली किन मौन रहे र अन्तिम समयसम्म पनि उनको वचाउमा लागि रहे?, यो एक पेचिलो प्रश्न हो। हल्काफुल्का ढझगले यसलाई उडाउन सजिलो छैन। यो टेप ओलीसम्म पुगेपछि पनि बाँस्कोटाले आफूलाई फाइदा हुने खालका धेरै निर्णयहरू गरिसकेका छन्। तिनीहरूबाट फाइदा लिएको आरोप त उनीमाथि लागेकै हो, लिए/लिएनन्, त्यो चाँहि उनै जानुन् । तर, यो  खोजबिनकै विषय भने पक्कै पनि हो। 

स्विस प्रिन्टिङ मेशिनबाट चाँहि सेटिङ नमिल्दा फाइदा लिन नसकेको देखियो। किनकि, सरकारले यो मेशिन नकिनेर अर्कै मेशिन किन्ने प्रक्रिया अगाडि बढाएको छ। तर, यसमा सेटिङ नमिलेर त्यसमा सेटिङ मिलेको पनि हुन सक्छ, यो खोजबिनको विषय हुन सक्छ। यो टेप प्रकरणले उनको नियत सार्वजनिक भएकाले मानिसहरू उनलाई शंकाको सुविधा दिनेवाला छैनन्। हो, यो टेप बाहिर ल्याउनेले ठेक्का आफूले नपाएपछि यो हर्कत गरेको देखिन्छ। त्यसका लागि उनीमाथि कारबाही होला, हुनुपर्छ- त्यो बेग्लै कुरा हो। किनकि, घुस दिने र लिने दुबैले कानुनको उलङ्घन गरिरहेका हुन्छन्।

बाँस्तोलाको राजिनामासँगै मानिसहरू उनको भविष्यको कुरा गरिरहेका छन्। के हुन्छ उनको भविष्य ? राजनीतिको अपराधिकरण भैसकेको मुलुकमा त्यति धेरै होला भन्ने अपेक्षा गर्नु बेकार छ, धेरै भए उनी खुमबहादुर खड्का हुने हुन्, गोविन्दराज जोशी र चिरञ्वीवी वाग्ले हुने हुन्। संसारले उनीहरूलाई भ्रष्टाचारी भने पनि कांग्रेसका लागि सदाचारी भएकै थिए, छन्। त्यस्तै हुने हुन् नेकपाका लागि बाँस्कोटा पनि।किनकि, अहिलेको मुलुकको कम्युनिष्ट नेतृत्व नै भ्रष्ट छ, अनैतिक छ। कसकसलाई मात्र डण्डा चलाउने ?  

यदि नेतृत्व बाँस्कोटाप्रति अलि अनुदार भयो भने उनले ठूला नेतालाई नै सडकमा पुर्याइदिने धम्की दिन पनि सक्छन्। किनकि, उनीसँग त्यस्ता सूचना प्रशस्तै हुन सक्ने अनुमान नेकपाभित्रै चर्चा गर्ने गरिन्छ। 

केही मानिस त उनको दिन दुईगुना रात चौगुना उन्नति हुनुमा ओलीसँग सम्बन्धित त्यस्तै संगीन सूचना उनीसँग भएको र त्यसैलाइ आधार बनाएर ब्ल्याकमेलिङ गरेर उनी त्यहाँसम्म पुगेको भन्ने पनि ठान्छन्। नत्र, एकजना सामान्य सांसदलाई राज्यमन्त्री बनाएर प्रवक्ता बनाउनुपर्ने, त्यसपछि केन्द्रीय सदस्यमा बढुवा गरेर क्याविनेटमन्त्री बनाउनुपर्ने, बस्नका लागि निवास र मन्त्रीका रूपमा रजाइँ गर्न दिनुपर्ने, अझ सहरी विकास मन्त्रालयजस्तो कमाउ मन्त्रालय पनि थपिदिनुपर्ने के कारण हुन सक्छ ? मानिसहरू यो कोणबाट पनि प्रश्न उठाउँछन्। 

ओली बाँस्कोटा सम्बन्धका यी यावत तन्तुहरूलाई सुक्ष्मरूपमा केलाउने हो भने नैतिकता बाँस्कोटासम्म मात्र पुगेर बाल्कोटस्थित ओली निवासमा बास बस्ने वाला छैन, त्यसअघि बालुवाटारस्थित प्रधानमन्री निबासमै पुगेर ओलीसँग हिसाबकिताव गर्ला जस्तो छ। यदि त्यसो भयो र साँच्चीकै खोजबिन हुने हो भने ओली पनि पुन: मुसिक भव: नहोलान् भन्न सकिन्न ।

मैले अघि नै भनिसकें, नेपालमा अपवादलाई छोडेर लुट्ने मौका नपाएकै कारण कम्युनिष्ट भएको नेतृत्व हो यो ।मौका पाउँनासाथ जसले जति सामर्थ्य हो, यो वा त्यो नाममा लुटेकैछ।अर्काकोमा हली बसेका बाबुका छोरा ओलीको अहिलेको सम्पतिको ग्राफ हेर्दा उनीतिर पनि औला ठड्याउन नसकिने हैन। आखिर उनले पनि ब्यापार गरेका छैनन् नै, राजनीति गरेकै आधारमा दमकदेखि बाल्कोटसम्म कसरी ठडिन्छन् त दरवारहरू ?  उत्तर सिधा छ, त्यसका लागि यो वा त्यो नामका बाँस्कोटाहरूले नै त जोहो गरिदिइरहेका हुन सक्छन्।  

मानिसहरू भन्छन्, कम्युनिष्टलाई फलानाले सक्यो, ढिस्कानाले सक्यो । यो सब बेकारको कुरा हो। कम्युनिष्ट सकियो भने तथाकथित कम्युनिष्टका आफ्नै चरित्र र क्रियाकलापले सकिएको हो। नेपालका कम्युनिष्ट पनि आफ्नै कारणले सकिने हुन्। सैद्धान्तिक रूपमा माथिबाट स्खलित हुँदो छ, व्यवहारिक रूपमा नेता कार्यकर्ता अनैतिक र भ्रष्ट आचारणमा लिप्त छन्। त्यसो भएपछि सकिने त कम्युनिष्ट न हो। नेपालमा पनि प्रचण्ड-ओली जोडी त्यसका लागि आफ्ना भजनमण्डलीहरू लिएर अहोरात्र खटिरहेका छन्। उनीहरूको मेहेनतले यो सकिन अब धेरै दिन लाग्ने चाल देखिदैन।

 

प्रकाशित मिति: : 2020-02-21 18:06:48

प्रतिकृया दिनुहोस्