सुर्खेतको जमिनबाट आकाशमा वेग हान्नेबित्तिकै सुदूरको दुर्दशा आँखा सामुन्ने आइहाल्यो । खुकुरीका धारजस्ता पहाड । उच्चाटिला डाँडा । हिउँले निमोठेका बोटबिरुवाबाहेक जति आँखा तन्काए पनि कतै समथर, कुलो–नहर पुगेका उब्जाउयोग्य जमिन भेटिँदैनन् ।
ढुङ्ग्यान, नाकेभीर र चुच्चे पहाडको फेदीमा फाट्टफुट्ट मात्रै डोजरले डाँडा कोपरिरहेको भेटिन्छ । मध्यपश्चिम र पश्चिमका डाँडामा राँटै नराखी बकेट गाडिरहेका स्काभेटर सुदूरका छातीमा छैनन् । तल, सुदूर खोँच र बेँसीतिर पनि डोजर आउने बाटो बनेका नहोलान् ।