ठेकेदारको चँगुलमा नेपालका रोहिंग्या शरणार्थी, ‘काम लगाउँछन्, पैसा दिँदैनन्’ (भिडियाे)

करिब ८ वर्ष बंगलादेशमा रोहिंग्या शरणार्थीको रुपमा बस्नु पर्दा रिजवान परिवारले नसोचेको दुःख पायो। यही भाईहरूको पनि जन्म भयो। 

रिजवान हुसेन मात्र तीन वर्षका थिए। दुधे बालक। उनलाई देशविहीन बन्नुको पीडा के हो?  थाहा पनि थिएन। बुवा शाहिद हुसेनको म्यानमारस्थित बोसिडममा राम्रै धाक थियो। शिक्षण पेशामा आवद्ध बुवालाई सबैले उत्तिकै आदर गर्थे। परिवारको अवस्था पनि राम्रो थियो। 
तर, २०५९ सालमा यस्तो अवस्था बन्यो, लाखौं मुसलमानसँगै रिजवानले पनि देश छाड्नु पर्यो। 

म्यानमारको बौद्धिष्ट सरकार मुस्लिम धर्मप्रति असहिष्णु बनेपछि थुप्रै मुसलमानले आफ्नो थाकथलो छोडे। यसमा रिजवानको परिवार पनि एक थियो। करिब ८ वर्ष बंगलादेशमा रोहिंग्या शरणार्थीको रुपमा बस्नु पर्दा रिजवान परिवारले नसोचेको दुःख पायो। यही भाईहरूको पनि जन्म भयो। 

बंगलादेशमा बसोबास गर्दा आर्थिकस्थितिमा केही सुधार नभएपछि उनको परिवार भारततर्फ लाग्यो। रिजवानको परिवार भारतमा पनि ५ वर्ष बस्यो। पछिल्लो समय भारतमा चर्किएको हिन्दु–मुस्लिम विवादका बीच यो परिवारले भारतमा पनि आफूलाई सुरक्षित महसुस गरेन। यसपछि स्वभावत उनीहरूको आशा नेपालतर्फ ढल्कियो। 

२०६८ सालमा पहिलो पल्ट काठमाडाैं प्रवेश गरेको रिजवान परिवार नेपालमा आफूलाई सुरक्षित महसुस गरिरहेको छ। उनीहरू नेपालको रहनसहन, खुला समाज तथा नेपालीहरूको सहयोगी भावनाबाट अनुग्रहित छन्। तर, अन्य नेपाली जस्तै फटाहा ठेकेदारबाट उनीहरू पनि उत्तिकै पीडित छन्। 

रिजवान अहिले २१ वर्ष टेकिसके। केही वर्षअघि उनको बुवा शाहिदको निधन भयो। यसपछि ४ भाई र आमा ताहिरा हुसेनलाई पाल्ने जिम्मेवारी उनको काँधमा सरेको छ। उनी कपनको लसुनटारमा डेरा गरि बस्छन्। उनको काम हो, ज्यालादारी मजदुरी। भाईहरू क्रमशः ६ कक्षा, ३ कक्षा, २ कक्षा र युकेजीमा पढ्छन्। उनी बिहानै ७ बजे ज्यामी काम गर्न डेराबाट निस्किसकेका हुन्छन्। बेलुका ५ बजेसम्म १० घण्टा काम गर्दा उनको कमाईं हुन्छ, ७ सय रुपैयाँ मात्र।

उनी आफ्नो काममा निकै दत्तचित्त भएर लाग्छन्। उनीसँग अर्को उपाय पनि छैन। तर, उनी आफ्नो काममा जति ध्यानमग्न छन्, त्यति ध्यान ठेकेदारले कामदारलाई दिने नगरेको दुःखेसो छ उनको। 

भन्छन्, ‘आफ्नो दुःख कसलाई सुनाऊँ। उनी आफूले काम गरेबापत पाउनु पर्ने ५५ हजार रुपैयाँ ठेकेदारले अझैंसम्म नबुझाएको गुनासो गर्छन्। भन्छन्, ‘त्यो ठेकेदारलाई भेटे भने बाँधेर राख्छु।’ 

लसुनटारमा हाल १ सय २० जना रोहिंग्या मुसलमान बसोबास गर्दै आइरहेका छन्। जसमा ७५ जना बालबालिका छन्। बृद्धको संख्या २५ र बृद्धाको संख्या २९ गरी कूल ४५ जना छन्। पुरुषहरू बाहिर गएर काम गर्छन। महिलालाई बाहिर गएर काम गर्न निषेध छ। उनीहरूले बाहिर निस्किँदासमेत अनुहार ढाक्नु पर्ने बाध्यता छ। परपुरुषसँग बोल्न प्रतिबन्ध नै लगाइएको छ। 

‘हाम्रो समाजमा पूर्खादेखि नै यही चलन चल्यो,’ रिजवानले बिएल नेपाली सेवासँग भने, ‘तर मलाई भने मन पर्दैन।’ उनी महिलामा पनि छुट्टै किसिमको योग्यता हुने बताउँछन्। उनलाई आफ्नो समाज र आफू जन्मिएको देशको सरकार उस्तै लाग्छ। ‘म्यानमारको सरकार निर्दयी छ। सुतिरहेको बेला आगो सल्काई दिन्थ्यो,’ उनले भने। 

सरकारको अमानवीय कार्यका कारण हालसम्म म्यानमारबाट लाखौं रोहिंग्या मुसलमान विस्तापित भइसकेका छन्।  

शरणार्थीकै रुपमा उनी बंगलादेश र भारतमा बसिसकेका छन्। तर, उनले नेपालमा जति सुरक्षित र सहृदय भएका मानिस अन्यत्र देखेका छैनन्।

‘नेपालको सरकार राम्रो छ। यहाँका मान्छे पनि राम्रा छन्,’ उनले भने–‘आफ्नै सरकारले वासस्थान दिएन।’ 

म्यानमार जारी हिंसाका कारण रिजवान जस्तै दुःख पाएर रफिक मोहम्मद पनि नेपाल आएर बसेका छन्। उनको कहानी अलि भिन्न छ।

उनी आमाबुवासँग छुट्टिएर बसेका छन्। २२ वर्षीय रफिक मोहम्मद परिवारको कमजोर आर्थिक अवस्थाका कारण म्यानमारमै हुँदा उनका पिता ज्युवुराम महोम्मद बैदेशिक रोजगारीका लागि मलेसिया भासिएका थिए। तर, उनको स्थायी थलो नै मलेसिया बन्यो। सन् २०१२ मा म्यानमारमा भड्किएको हिंसाका कारण उनको परिवार रातारात भागेर बंगलादेश पुग्यो। 

यसपछि सुरक्षित बासस्थानको खोजी गर्ने क्रममा उनीहरु नेपाल भित्रिए। तीन वर्ष भयो, रफिक र उनको परिवार कपनमा बसोबास गर्न थालेको। उनले पाँच वर्षका लागि जग्गा भाडामा लिएका छन्। भन्छन्, ‘पहिले यहाँ आउँदो अनौठो लाग्थ्यो। अहिले आफ्नो जस्तो लाग्न थालेको छ। के गर्ने, आफ्नो पराई भयो, पराई आफ्नो भयो।’

उनी म्यानमार सरकारले आफ्नो सारा सम्पत्तिमा कब्जा गरेको बताउँछन्। ‘म्यानमार सरकारले हामीलाई घरको न घाटको बनायो,’ उनी भन्छन्, ‘त के गर्नु जति नै द्धन्द्धले घेरिएपनि आफ्नो जन्मभूमि प्यारो लाग्दो रहेछ। सरकारले जग्गा फिर्ता दियो र बोलायो भने जान तयार छौं।’

नेपाल सरकारले हाल तीन सय रोहिंग्या शरणार्थीलाई बसोबास गर्न दिएको छ। रफिक नेपालमा सबै कुराको सुविधा भएपनि कामको अभाव भएको बताउँछन्। ‘दैनिक काम पाइदैन। काम नगरि खान र लगाउन गाह्रो छ,’ उनी दुःखेसो गर्छन।


 

प्रकाशित मिति: : 2020-02-16 23:55:00

प्रतिकृया दिनुहोस्