म्यान्चेष्टर सिटीलाई प्रतिबन्ध : दुई सिजन च्याम्पियन्स लिग खेल्न नपाउने

एजेन्सी

काठमाडाैं

म्यान्चेष्टर सिटीले दुई सिजन च्याम्पियन्स लिग फुटबल खेल्न नपाउने भएको छ। युरोपेली फुटबल महासंघ युईएफएको क्लब लाईसेन्सिङ र फाईनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाईएको हो।

महासंघले इंग्लिस प्रिमियर लिगको साविक विजेता सिटीलाई ३ करोड युरो जरिवाना पनि गर्ने निर्णय पनि गरेको छ।

महासंघको आर्थिक विभागले गरेको छानबिनमा सन् २०१२ देखि २०१६ सम्मको अवधिमा प्रायोजनसम्बन्धी आम्दानीमा दोषी पाइएपछि कारबाही गरिएको महासंघले जनाएको छ।

'प्रायोजन बापतको रकम खातामा गलत देखाएर सन् २०१२ देखि २०१६ सम्म युईएफएमा बुझाएको देखिएको छ।' युईएफएले जारी गरेको बिज्ञप्तीमा भनिएको छ।

क्लबले महासंघको अनुसन्धानमा सहयोग नगरेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। तर निर्णयबिरुद्द सिटीले कोर्ट अफ आर्बिटेशन अफ स्पोर्ट्समा अपिल गर्न पाउनेछ। सिटीले निर्णयले आफु निराश भएपनि कुनै अचम्मित नभएको बताएको छ।

युरोपेली फुटबल महासंघले बनाएको आर्थिक अनुशासन पालना नगरेको, आर्थिक पारदर्शीता नभएकोमा सिटीले यसअघि पनि कारबाही भोगेको थियो। सिटीले गत सिजनमात्र च्याम्पियन्स लिगबाट ८६ मिलियन पाउण्ड आम्दानी गरेको थियो।

दुई बर्ष च्याम्पियन्स लिगमा सहभागी हुन नपाउने भएपछि सिटीले कम्तिमा १ सय ७० मिलियन पाउण्ड रकम गुमाउनेछ।

यो निर्णय म्यान्चेष्टर सिटीको महिला टीमलाई भने लागू हुने छैन। 


 

प्रकाशित मिति: : 2020-02-15 21:00:12

प्रतिकृया दिनुहोस्