जब पहाड र तराईबीच साइनो गाँसियो...

भ्रमण वर्ष २०२० मा आयोजित मितेरी साइनो कार्यक्रमबाट भिटोफ गण्डकीले ग्रामीण पर्यटनलाई थप उचाइमा पुर्‍याउन सुखद् सन्देश दिएको छ। नयाँ नेतृत्वले पहाड र तराई बीच पर्यटन र सांस्कृतिक सम्बन्धको पुल हालेको छ।

पहाडमा जाडो बढे, तराईले सेक्नुपर्छ

आँधी आए तराईमापहाडले छेक्नुपर्छ

होइन भने देशभक्ति छैन हाम्रो छाति भित्र

माटोलाई चोट लाग्दा मुटुहरू रूनुपर्छ।

आहा! कति मिठास छ गीतमा। दिनेश अधिकारीले रचेको शब्द चयनमा गायक सत्य र स्वरुप आचार्यले गाएको मन छुने गीतले पहाड र तराईबीचको घनिष्ट सम्बन्धबारे सुन्दर बर्णन गरेको छ। तराई र पहाड भौगोलिक रुपमा फरक भए पनि जातीय विविधता र तिनका रहन सहनसँगै मौलिक भेषभुसा र संस्कृतिले हाम्रो देशलाई सुन्दर बगैचा बनाएको छ।

नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका बेला गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) नेपाल गण्डकी शाखाले जाऊँ है घुम्नलाईमितेरी जोडेर शुरु गरौँ भ्रमण वर्षलाई’ भन्ने नाराका साथ पहाड र तराईका ३-३ वटा होमस्टेबीच माघ २३ देखि  २५ गतेसम्म मितेरी साईनो जोडिदिएको छ। 

नेपालकै पर्यटन हबका रुपमा चिनिएको गण्डकी प्रदेशले ग्रामीण पर्यटनमा पनि उत्तिकै नाम कमाएको छ। स्याङ्जाको सिरुबारी नेपालकै पहिलो ग्रामीण पर्यटन गन्तव्य हो। क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना एवं अगुवाईमा सिरुबारीलाई होमस्टे सुविधा सहित पर्यटन गाउँका रुपमा विकास गरिएको सुनौलो इतिहास छ।

विसं २०५४ मा क्याप्टेन रुद्रमानले रोपेको ग्रामीण पर्यटनको विउ अचेल गण्डकी प्रदेश हुँदै देशैभरि फैलेको छ। त्यही अभियानमा ग्रामीण पर्यटकीय गन्तब्यलाई आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित भिटोफ गण्डकीले विभिन्न गाउँमा घरबास भ्रमण, तालिम र प्रचार प्रसारका कार्यक्रम गरिरहेको छ।  

भिटोफले गण्डकी प्रदेशका तीन सामुदायिक होमस्टेहरु क्रमशः ताङतिङ सामुदायिक होमस्टे,ताङतिङ, भुक देउराली नमुना होमस्टे, पर्वत  र लप्सिबोट सामुदायिक होमस्टे, पर्वत  र प्रदेश न.५ बर्दियाका गोविन्दपुर सामुदायिक होमस्टे, डल्ला सामुदायिक होम्स्टे र सत्‌खलुवा सामुदायिक होमस्टेबीच मितेरी साइनो गाँस्ने वातावरण मिलाएको हो। 

ताङतिङ र गोविन्दपुरको साइनो

बर्दियाको गोविन्दपुर गाउँमा एकाबिहानै मन्द गतिमा घाम लागेको थियो, तराईमा शितलहर हट्दै थियो, दिन छिप्पिँदै गर्दा विस्तारै सूर्यको तापले तराईको जमिन न्यानो हुदै थियो। बारीमा तोरीबारी पहेंलपुर थियो। खेतमा टौवा ठडिएका थिए। वरिपरि सामुदायिक वनभित्र छरपस्टिएका थारु गाउँ। निकै चहलपहाल थियो त्यस दिन गोविन्दपुर गाउँमा। पहाडका एक हुल गुरुङ पहिरन ठाँटिएका महिला सजिएका थिए भने तराईको थारु पहिरनमा सजिएका महिला पनि सामुदायिक भवनमा देखा परे। मेला पर्वमा जस्तै देखिने हँसिला थारु महिलाले आगन्तुकलाई धमाधम टिका र फुलमालाले स्वागत गरे।

गुरुङ समुदाय वसोवास रहेको कास्की जिल्लाको मादी गाउँपालिका वडा -२ का ताङतिङ सामुदायिक होमस्टे, र तराईको समथल भुभागमा अवस्थित बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा-५ मा रहेको थारु समुदायको वसोबास गरेको गोविन्दपुर सामुदायिक होमस्टेबीच मितेरी साइनो गाँस्ने कार्यक्रममा उत्साह थियो। निकै हर्षोल्लासका साथ मादी गाउँपालिका-२ का अध्यक्ष एकजंग गुरुङ र ठाकुरबाबा नगरपालिका-५ का गंगाराम जैसीले एक अर्कालाई स्थानीय पहिरन लगाई दिए। गुरुङ समुदायको भांग्रा र थारु समुदायको सर्ट र धोति एक आपसमा लगाउँदै गर्दाको दृश्य खुव रोचक थियो। अध्यक्षद्वय गुरुङ र जैसीले टाउको ठोकाएर मित लगाउँदै गर्दा दर्शकले दंग पर्दै ताली वजाए।

कार्यक्रममा ताङतिङका महिला समुहले सुन्दर नृत्य प्रस्तुत गरे भने गोविन्दपुरकाले थारु नृत्य प्रस्तुत गरेर पाहुनाको स्वागत गरे। त्यसैगरी ताङतिङ सामुदायिक होमस्टेकी अध्यक्ष पसमाया गुरुङलाई थारु पहिरन (चोलि र सेतो आघरान).पहिर्‍यायाएर र गोविन्दपुर सामुदायिक होमस्टेका अध्यक्ष वीरबहादुर कुस्मा थारुलाई भांग्रा लगाई दिइन्। दुवै अध्यक्षले सम्झौता पत्रमा हस्ताक्षर गर्दे आदानप्रदान गरे। कार्यक्रममा ताङतिङले गोविन्दपुरलाई आउँदो बैशाख १ देखि १० गते सम्म आफ्नो गाउँको शिरानमा हुने करपु महोत्सवको निम्तो पनि दियो।

गोविन्दपुर होमस्टे ठाकुरबाबा नगरपालिका-५ मा पर्दछ। वर्दिया राष्ट्रिय निकुञ्जको छेउमा रहेको होमस्टे २०७५ सालमा सञ्चालनमा आएको हो। हाल १२ घरमा होमस्टेमा सञ्चालनमा छ। तराईका भुगोल, प्राकृतिक दृश्य, थारु रहनसहन, जिवनशैली, संस्कृति र खानपिन यहाँका मुख्य विशेषता हुन। 

कार्यक्रमका प्रमुख अतिथि वर्दियाका संघीय सांसद सन्तकुमार थारु थिए। उनलाई पातको इष्टकोट लगाइदिइएको थियो। त्यहाँ ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी थारु, प्रदेश सभासद् लौटी थारु, पर्यापर्यटन मञ्चका पूर्व अध्यक्ष कृष्ण भट्राई लगायतको उपश्थिति थियो।

केहि तस्विर झलकहरुः

श्रब्य दृश्य (भिडियो) 

भुक देउराली र डल्ला बिच पिरती

त्यहि दिन अपरान्ह डल्ला सामुदायिक भवनमा जमघट थियो। त्यहाँ भएको कार्यक्रममा पर्वत जिल्लाको, मोदी गाउँपालिकामा सञ्चालित भुक देउराली नमुना गाउँ सामुदायिक होमस्टे र बर्दिया जिल्लाको मधुवन नगरपालिकामा रहेको खाता जैविक मार्ग होमस्टे डल्ला बीच मितेरी साईनो लगाइयो। कार्यक्रममा मोदी गाउँपालिका-१ अध्यक्ष भुल प्रसाद पौडेल र होमस्टेका अध्यक्ष टेकवहादुर गुरुङलाई डल्ला होमस्टेका अध्यक्ष परशुराम चौधरीले सर्ट र धोती पर्हियाइदिए। र, भुक देउराली नमुना गाउँ सामुदायिक होमस्टेले अध्यक्ष थारुलाई भांग्रा लगाइदिएका थिए। 

कार्यक्रममा भुक देउराली समहुले नृत्य प्रस्तुत गरे भने डल्लाका थारु समुदायले पनि सांस्कृतिक नृत्य प्रस्तुत गरेर कार्यक्रमको रौनक बढाएका थिए। मितेरी साइनोको स्वागतमा उपस्थित सहभागिहरुले तालि बजाए। कार्यक्रममा मितेरी गाउँबीच आपसमा मायाको चिनो पनि बाँडियो।  

२०६५ सञ्चालनमा सुरु भएको डल्ला होमस्टेमा थारू जिवनशैली, संस्कृति र थारु जातिका झुमरा नाच, मझिरा नाच, लाठी नाच अवलोकन गर्न पाइन्छ। होमस्टेमा बसेर जंगल सफारी गर्दा पाटे बाघ, गैँडा तथा बथानसहितका हात्ती देख्न पाइन्छ।

डल्लामा भएको मितेरी कार्यक्रमको प्रमुख अतिथि शिव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मंगल थारु थिए।

केहि तस्विर झलकहरुः

श्रब्य दृश्य (भिडियो)

लप्सिबोट र सत्‌खलुवा बिच मितेरी 

यसैगरी वारवर्दिया नगरपालिका-१ मा सञ्चालित सत्खलुवा सामुदायिक होमस्टे र पर्वतको लप्सिबोट सामुदायिक होम्सटेबीच पनि मितेरी सम्बन्ध गाँसियो। सत्खलुवा गाउँमा भएको कार्यक्रममा होमस्टेकी अध्यक्ष विष्णुकुमारी गुरुङ र मादी गाउँपालिकाका वडाअध्यक्ष भूल बहादुर पौडेलले सत्खलुवा होमस्टेका अध्यक्ष सुरेश आचार्यलाई भांग्रा लगाइदिए। अध्यक्ष आचार्यले थारु पोशाक पर्हियाईदिएर मित लगाएका थिए। उक्त समारोहमा पहाडका र तराईका कोशेली पनि साटासाट गरिएको थियो।

कार्यक्रममा सत्खलुवाको टोलिले भजन गाएर मनोरञ्जन दिलायो भने लप्सिबोटले नाच देखायो। यस कार्यक्रमका प्रमुख अतिथि बारबर्दिया नगरपालिका प्रमुख दुर्गाबहादुर थारु थिए। कार्यक्रममा नगरपालिकाकी उपप्रमुख अञ्जु दहित, जिल्ला समन्वय समिति बर्दियाका उपाध्यक्ष मानबहादुर बिष्ट आदिको उपश्थिति थियो।  

सत्खलुवा सामुदायिक होमस्टे २०७४ सालमा सञ्चालनमा आएको हो। मिस्रित जाति मिलेर बसेको गाँउका १० घरमा होमस्टे सुविधा छ। नजिकैको सत्खलुवा सिमसार क्षेत्र एक प्रमुख पर्यटकीय गन्तब्य हो। यहाँको सत्खलुवा तालमा डुङगा शयर र मन्दिर दर्शन गर्न पाइन्छ। 

केहि तस्विर झलकहरुः

श्रब्य दृश्य (भिडियो)

पर्यटन र सांस्कृतिक सम्बन्धको पुल   

पहिलो मितेरी कार्यक्रम आयोजना गरेर भिटोफ गण्डकीले ग्रामीण पर्यटनलाई थप उचाईमा पुर्याउन सुखद् सन्देश दिएको छ। नवराज अधिकारीको अगुवाईमा भिटोफमा नयाँ नेतृत्व चयनसंगै संस्थाले सृजनात्मक गतिविधिमा अग्रसरता देखाएको छ, जसले पहाड र तराईबीच पर्यटन र सांस्कृतिक सम्बन्ध जोडने पुलको काम गरेको छ।   

यस्ता किसिमका मितेरी साईनोले पहाड र तराईका होमस्टेबीच सम्बन्ध गाँसेर आन्तरिक पर्यटकको बढाउन मद्दत पुग्छ। साथै पर्यटकको आतिथ्यता, स्वागत–सत्कार गर्दै अनुभव साटासाट गर्न मद्दत पुग्ने भिटोफ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं कार्यक्रमका संयोजक तारानाथ पहारीले बताए। गण्डकी प्रदेशमा गाउँ पर्यटनले होमस्टेको माध्यमबाट धेरै फड्को मारेको र स्थानीयको आयआर्जनमा समेत योगदान पुर्याएको उनले बताए। 

भिटोफ गण्डकीका अध्यक्ष नवराज अधिकारीले मितेरी साईनो कार्यक्रमले पहाड र तराईबीच सम्बन्ध झन् मजबुत बनाएकोमा खुसी प्रकट गरे। गण्डकी प्रदेशमा सञ्चालित घरबासमा प्रकृति र संस्कृतिको साथै गाउँबाट देखिने हिमाल, गुफा, तालतलैया, धार्मिक एवं ऐतिहासिकस्थल छन् भने प्रदेश ५ मा थारु समुदायको संस्कृति र तिनको जिवनशैलीसंगै राष्ट्रको गौरवमय वर्दिया राष्ट्रिय निकुञ्ज आदिले महत्वपूर्ण रहेको उनले बताए।

मितेरी साईनो गाँसेसँगै यस्ता किसिमका कार्यक्रमले दुवै ठाउँका जातीय रहनसहन, भेशभूषा, कलासंस्कृति जान्न र बुझ्नसमेत टेवा पुर्याउने उपस्थित विभिन्न वक्ताहरुले सुनाए।

भिटोफको मितेरी साईनो कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड पोखरा र पर्यटन परिषद पोखरा आदिले सघाएका थिए। कार्यक्रमको सहकार्य गण्डकी प्रदेशका मादी र मोदी गाउँपालिका र प्रदेश न. ५ वर्दिया जिल्लाको ठाकुराबाबा नगरपालिका, मधुवन नगरपालिका, वारवर्दिया नगरपालिकाले गरेका थिए। त्यसैगरी बर्दिया पोखरा समन्वय समाज र टि ट्यवान्टी ट्राभलले समन्वय गरेका थिए।

आगामी दिनमा पनि भिटोफले यस्ता कार्यक्रमलाई निरन्तरता दिओस्। शुभकामना। 

प्रकाशित मिति: : 2020-02-15 04:52:36

प्रतिकृया दिनुहोस्