महाभारत पहाडको दक्षिण काखमा ललितपुरको गिम्दी गाउँ छ । कालेश्रवरका बालकृष्ण तिमिल्सिना दाइ र म सोही गाउँको कटुवा चौतारीमा बसेका थियौँ । गर्मी मौसम, उकालो हिँडाइपछि चौतारीको बसाइ आनन्ददायक थियो । गन्हाएकै भए पनि फेदीमा बागमतीको गति, भित्री मधेस (मकवानपुर) र मधेस (बारा)को दृष्य महाभारतबाट हेर्दा थपिएको आनन्द । पेटीमा झोला बिसाएर थकाइको सुस्केरासँगै बाराको लालबकैया (नदी) नियाल्दा त बिछट्टको आनन्द अनुभूति हुने । ठीक यहीवेला चौतारीमा एक युवकले डोको बिसाउँछ । उसलाई हेर्दा, थाप्लोमा नाम्लाको डाम छ, निधारमा मुजा र चरक्क चिरिएका कुर्कुच्चा ।
‘कहाँ पुग्ने हो भाइ ?’ ऊसँग नजर जुधेपछि मैले जिज्ञासा राखेँ । जनजाति लवजमा ‘ऊ त्यहीँ हो’ भनेर दाहिनेतिर औँला देखायो । औँलाको टुप्पो पछ्याउँदा गिम्दीको बाँजगाउँ पुगियो । ‘कहाँ गएर आउनु’भो त ?’ मेरो अर्को जिज्ञासा थियो । ‘गोटीखेल । गाउँभरिको खुवा जम्मा गरेर गोटीखेल पुर्याएको र त्यहाँबाट तल पसलको माल ल्याएको ।’ उसले ठाम र काम बतायो । तपाईं भनेर सम्बोधन गरेको विषयले ऊ अचम्ममा परेको बुझ्न सकिन्थ्यो । उसले पछि त्यसको रहस्य खोल्यो कि ‘मलाई यतिखेरसम्म कसैले पनि तपाईं भनेर सम्बोधन गरेको थिएन ।’ ‘तपाईं तामाङ हो ?’ भनेर निष्कर्षसहित जान्न खोजेँ । उसले फेरि अचम्म मान्दै प्रतिप्रश्न गर्यो ‘कसरी थाहा पाउनु’भो ? ‘तपाईंको आ“खा र बोली’ भन्ने जवाफ उसले बुझेन । यति सोझो कि आँखा छाम्न पो थाल्यो । कुरो
प्रस्ट्याएपछि ‘हाम्रो गाउँमा मगर पनि छन् नि !’ भनेर उल्टो मेरो परीक्षा लिन खोज्यो । ‘माओवादी देख्नुभा’छ त तपाईंले’ भनेर उसको मन चोर्न खोजेँ । त्यसपछि उसले हाम्रा झोला, अनुहार र हाउभाउ नियाल्यो । बोलेन, मुस्कुरायो मात्र । गिम्दीबाट एकाध युवा माओवादी सेनामा भर्ती भएको कुरा उसले थाहा नपाउने कुरै थिएन । उसको अनुहार पढ्दा इमानदारी झल्किन्थ्यो ।
जीवन र काम एवं बुझाइ र प्रस्तुतिले लोभ्याइसकेको थियो मलाई । ललितपुर पहाडका सबै गाउँ पुग्ने बाटा र गोरेटा जानेको, फरक मातृभाषी सहयोगीको खोजीमा थियौँ, हामी । ‘तपाईं माओवादी बन्ने त भाइ ?’ मैले प्रस्ताव राखेँ । उसले न हुन्छ भन्यो, न त हुँदैन नै । तर, उसको अनुहार नियाल्दा मेरो प्रस्तावले छोएको अनुमान लगाउन गाह्रो भएन । झन्डै एक घन्टाको भलाकुसारीपछि उसले मुख खोल्यो, ‘बालाई सोधेर भोलि भन्छु ।’ भोलि त्यही चौतारामा भेट्ने सहमतिसहित ऊ ओरालो लाग्यो, हामी उकालो । चन्दनपुर पुग्ने लक्ष्यलाई गिम्दीमै अड्याएर हामीले बरबोटे टाकुरामा वास बस्ने निश्चित गर्यौँ ।
भोलिपल्ट ऊसँग भेट भयो । रित्तो हात आएको देख्दा एउटा मनमा ‘जान्न’ भन्छ कि भन्ने लाग्यो । अर्को मनमा लाग्यो, नकारात्मक उत्तर दिनका लागि हामीलाई भेट्न धाई–धाई किन आउँथ्यो । श्रमिक तामाङ युवकले माओवादी बन्ने फैसला सुनायो, तर पनि ऊ अधैर्य देखिएन । आखिर उत्पीडनमा परेका नै आकर्षित थिए, माओवादी आन्दोलनमा । उसले आफ्नो पार्टी नाम ‘आक्रोश’ जुरायो ।