प्रिया,
सोचिहेरेँ, तिमीलाई सम्बोधन गरेर एउटा प्रेमपत्र लेखौँ, तर टाउको त्यसै भारी भएर आयो। कारण? कारण त प्रष्ट छ – भावना गह्रौँ गह्रौँ शब्दमा आइदिए – मैले त सोचेको थिएँ, भावनाहरू हलुका भएर आउन्, सिमलको भुवा जस्तै हल्का र मीठो गरी उडेर आउन् वा हिउँका फाल्सा जस्तै फुसफुस गर्दै रमणीय तरिकाले आउन्,तर भएन। सोचेको थिएँ, प्रेम कोमल कुरा हो, मिठो आभास हो, यसलाई मिठो तरिकाले कोमल शब्दमा भन्न सकियोस, तर अहँ,सोचेजस्तो क्यै भएन, बाल्यकालको सरलता सायद बाटैमा छुटेछ क्यार, अब भावनाहरू जम्न थालेछन क्यार! त्यसैले शुरूमै माफी माग्छु, यी भारी टाउकोबाट निस्केका भद्दा शब्दहरूलाई केही सरल पारेर बुझिदेऊ!
हुनसक्छ, मलाई समयका निर्मम बाछिटाले हिर्काए, म हिँड्दाहिँड्दै जमेँ र कठोर भैसकेँ– तर जिन्दगी हो, तिमीलाई पनि त समयले कति मुड्क्याएको होला? त्यसैले ममात्र कठोर अनि तिमी चैँ सरल हौली, वा तिमीमा बालसुलभ कोमलता होला भन्ने भूल चैँ म गर्दिन। बस,एउटा अपेक्षा त पक्कै छ मसँग – तर त्यो तिमीसँगको अपेक्षा होइन, प्रेमसँगको अपेक्षा हो – हामी बीच प्रेम अंकुराउने हो भने त्यसले पक्का पनि हामी दुवैमा एकैनास सरलता ल्याउला।हामी भाँडाकुटी खेल्ने उमेरकै रौनक बाँचौंला।
प्रेम के हो, म परिभाषित गर्न चाहन्न किनकि प्रेमलाई परिभाषित गर्नु नै प्रेमको चिहान खन्नु हो। भोग्नेहरू भन्छन्,परिभाषाले प्रेमलाई सङ्कुचित गर्छ र मार्छ।
हो, म तिमीलाई अजीव प्रेमपत्र लेखिरहेको छु। न त यसमा प्रेमको कुनै परिभाषा छ न त कुनै कसम नै!
हो, यहाँ म तिमीलाई प्रेम नै गर्छु र गरिरहन्छु भन्ने कसम पनि खान्न; थाहा छ? कसमहरू तोड्नकै लागि बन्छन्, जति कम कसम खायो त्यति नै हामी स्वतन्त्र प्रेमको उडानमा हुन्छौं भनेर १९ औं शताब्दीको मध्यतिर नै कवयित्री क्रिस्टिना रोजेत्तीलेआफ्नो प्रेमीलाई भनेकी रहिछिन् –