२०५९ साल असोजको महिना । वर्षा सकिएपछि आएको शरद ऋतुले प्रकृतिलाई सुन्दर बनाएको थियो । त्यसमाथि हिन्दु नेपालीहरुको महान् चाड दसैंको आगमनले गाउँका घरहरु कमेरो र रातो माटो लिपिएर चिटिक्क परेका थिए । आँगन र बारीका डिलहरुमा सयपत्री र मखमलीले तिहार कुरिरहेका थिए । बाआमाको हातको टिका र आशीर्वाद थाप्न परदेशबाट घर फर्किरहेका थिए । जसरी घरका भित्ताहरु कमेरो र रातोमाटोले लिपिएर चम्किलो भएको थियो, त्यसरी मान्छेमा मनहरु चम्किन सकेको थिएन । मखमली र सयपत्रीले हाँसेर तिहारलाई स्वागत गरे पनि मान्छेका मनहरु हाँस्न सकिरहेको थिएन । जीवनलाई दाउमा राखेर फर्किएका थिए परदेशीहरु । किनिक त्यतिवेला गाउँमा संकटकाल लागेको थियो ।
२०५८ साल मंसिरदेखि जब देशमा संकटकाल घोषणा भयो, तब आम मानिसका मनभित्र भय र त्रासले डेरा जमाउन थाल्यो । गाउँगाउँमा माओवादी गस्ती सुरु भयो । गाउँका जाली र शोशक मास्ने भन्दै हुलकाहुल माओवादी हिँड्न थाले । 'काँधमा बन्धुक नबोकी गरिबको सुदिन आउँदैन' भन्दै स्कुल पढ्न गएकाहरु किताबको झोला फ्याँकेर युद्धमा होमिए । पढाउन गएका शिक्षकहरु चक र डस्टर छोडेर अभियानमा लामबद्ध भए । बिहान बेलुका खेती नगरी खान नपाउने किसानहरुले आफू एकछाक खाएर मान्द्रोमा आफू सुतेर न्यानो ओछ्यानमा सुताए । गाउँका कुनै घर छैनन् होला माओवादीले नखाएको र नसुतेको ।