खाना प्राणीकाे लागि अपरिहार्य कुरो हो। प्राणी मध्ये सबैभन्दा बुद्धिमान आफूलाई सिद्ध गरिसकेको हुनाले मानिसले आफूलाई शर्वशक्तिमान रुपमा स्थापित गरिसकेकाे छ। आदिमकाल देखि नै मानिस आहाराको पोषणता तथा स्वादको अन्वेषण अनुसन्धानमा लागि रह्यो । शुरूमा आगो उपलब्ध थिएन, अतः खाने कुरा काँचो तथा अपरिष्कृत रूपमै खाएर जीवन जोगाइन्थ्यो। काँचो खाना मानव जीवनको लागि अपाच्य तथा अस्वास्थ्यकर त हुन्थ्यो नै साथै खानामा कुनै किसिमको स्वाद पनि हुदैन्थ्योा
तर आगोको आविष्कार भनौं प्राप्ति पछि पोषिलो अन्न तथा अन्य खाद्य पदार्थलाई आगोको सहयोगले पकाएर विभिन्न परिकारको रुपमा उपयोग गर्न थालियो। आगोको अविष्कार मानिसका लागि ईश्वरीय वरदानको रुपमा प्राप्त भएको थियो। खाना उमालेर, वाष्पित गरेर, सुक्खा रुपमा भुटेर, तेलमा हालेर आदि पाक विधि अनुसार पकाएर खाँदा स्वादिलो तथा सुपाच्य हुन पुग्याे।
खाना पकाएर खानाले त्यसमा विद्यमान सुक्ष्मजीवि हानिकारक किटाणुको क्षय भएर स्वस्थ्यकर हुन जान्छ, जसले खाना झनै सुपाच्य तथा पोषिलो हुन्छ।
उमालेर, वाष्पित गरेर, तेलमा भुटेर प्रायः प्रत्येक गृहस्थको भान्सामा खाना तयार हुने गर्दछ र स्वाद मानेर खाने गरिन्छ तर खानालाइ सुक्खा रुपमा भुटेर फुटहा तयार पार्ने काम भोजपुरी लोकजीवनको सामुहिक चुल्होमा तयार हुने गर्दछ, जसलाइ भोजपुरी भाषामा ‘घोन्सार’ भन्दछन्।
घोन्सारमा आगो बाल्नलाई इन्धनको रुपमा पातपतिङ्गरलाई यस भित्र फाल्ने (भोजपुरी भाषामा ‘झोक्ने’) गरिन्छ। भोजपुरीमा यसक्रियालाई ‘घोन्सार झोंकल’ भन्दछन् तथा सम्भवतः यसै कारण चुल्होको नाम घोन्सार हुन गएको हाेला। यसमा अत्रलाइ भुट्नको लागि पानी वा तेलको साटो तातेको बालुवाको सहायता लिइन्छ, जसको कारण यसमा भुटिएको अन्नमा बोसोको मात्रा प्रायः हुदैन। जुन स्वस्थ्यको हिसाबले पनि हितकर हुन्छ ।
घोन्सार मुख्यतया वरिपरिका टोलका आइमाई तथा किशोरीको मिलन स्थलको रुपमा प्रसिद्ध रहेको हुन्छ। पहाडको गाउँ ठाउँमा पानी पँधेरामा जसरी आइमाईको घुइँचो लाग्ने गर्दछ । पानी भर्नको लागि पालो कुर्नुपर्ने हुन्छ। उनीहरु बीच जुन प्रकारको कुराकानी र वादविवाद, यौनजन्य हास–परिहास वा सञ्चार हुने गर्दछ, भोजपुरी लोकजीवनमा पनि ठीक त्यस्तै प्रकारको परिदृश्य घोनसारमा देख्न सकिन्छ। आफूले ल्याएको अन्न भुट्नको लागि घोन्सारमा पनि पालो पर्खिनु पर्ने हुन्छ तथा त्यहाँ खाली समयमा पहाडी आइमाइले पँधेरोमा जुन प्रकारको कुराकानी, यौनजन्य हास–परिहास र वादविवाद वा संचार आपसमा बाँड्ने गर्दछन्, ठीक त्यस्तै प्रकारका वातावरण र माहाेल भोजपुरी लोक जीवनको सामुहिक चुल्हो घोन्सारमा पनि रहेको हुन्छ।
गाउँमा कसको घरमा के भइरहेको छ? कसको छोरा छोरी वा बुढाबुढीले के के गरे ? मौसमको बारेमा कुराकानी तथा तमाम प्रश्नको उत्तर त्यहाँ खाेजिने गरिन्छ। एक किसिमले भन्ने हो भने घोन्सार वैदिककालको यज्ञभूमी जस्तो पनि हामीले पाउदछौं। जहाँ मानिसको घुइँचो लागेर समाजका विभिन्न स्थितिबारे व्यापक छलफल तथा विभिन्न खाले समस्याको समाधान हुने गर्दथ्यो।
घोन्सार भोजपुरी लोकजीवनको सामुहिक चुल्हो हाे, जसमा खाजा वा खानाको लागि तत्काल भोजन तयार हुन्छ। घोन्सार पूर्व–पश्चिम मुख भएको (हावाको वहाव अनुसार) जमिनमा खाडल खनेर लामाे बनाइएको हुन्छ, जसको उतर र दक्षिण तर्फ लहरै माटोको खपरी(माटोको) भाँड़ो राखिएको हुन्छ ।
खपरी अन्तरवर्ती क्रममा एउटामा भुटने तथा अर्कोमा बालूवा तताउने कामको लागि राखिएको हुन्छ । वस्तुतः घोन्सारमा तातो बालूवाले नै कुनै पनि अन्न भुटिन्छ । घोन्सार मुख्य रुपले गोंढ भन्ने जाती विशेषले बनाउँदछन् तथा त्यसको संचालन गर्दछन् । घोन्सारको इंधनको रुपमा पात, पतिङ्गरकाे प्रयोग हुन्छ। त्यस्तो इंधन गोंढ जातिका मानिस, केटाकेटी तथा आइमाईले विभिन्न बगैंचाबाट बढाडेर संकलन गरि ल्याउँदछन्।
पश्चिमा हावा चलेको बेला घोन्सारको पूर्वी मुख माटोको भाँडोले थुनेर पश्चिम मुखमा इंधन हालिन्छ तथा पूर्वी हावा चलेको बेला पश्चिम मुख माटोको भाँडोले थुनेर पूर्वी मुखमा इंधन हालिन्छ । यति परिश्रम गरे पछि गोंढले ज्यालाको रुपमा जुन अन्न भुट्नको लागि ल्याइएको हुन्छ त्यसैको आठ भाग मध्ये एक भाग पाउछन् ।
घाेन्सारमा चामल भुटेर भुजा(खट्टे) बनाइन्छ, जसमा लावा (फूल) हुन्छ तथा तत्काल खानाको लागि उपयुक्त हुन्छ । चामलको मुर्ही पनि बनाइन्छ, जसलाइ भोजपुरी भाषामा ‘लाइ’ भन्दछन् । घोन्सारमा गेडागुडी जस्तै चना,मटर,केराउ,सिमी,पनि भुटिन्छ। त्यसको विभिन्न परिकार बनाएर तत्काल भोजनको रुपमा प्रयोग गरिन्छ। त्यस्तो परिकारहरु मध्ये मुख्य मसलुवा बन्दछ।
भुटेको गेडागुडीमा नून, पिनेको खुर्सानीको धूलो, जीरा, धनिया, प्याज हालेर खाने तेल मिसाइ हातले मुछेर मसलुवा तयार हुन्छ । यस प्रकारले तयार भएको परिकारलाई भोजपुरी भाषामा ‘मसलुवा’ भन्दछन् । जाडोको दिनमा भोजपुरी क्षेत्रमा रात्री भोजनको रुपमा मसलुवा तथा मुर्ही वा चामलको खट्टे प्रसिद्ध रहेका छन्।
जौ,मसुरो,मकै,चना,खेंसारी जस्ता अन्नहलाई घोन्सारमा भुटेर जाँतोमा पिनी भोजपुरी लोकजीवनमा सुप्रसिद्ध रहेको सतुवा(सातु) बनाइन्छ, जुन सम्भवतः विश्वभरिकै सबैभन्दा छिटो खान सकिने तत्काल खानाको रुपमा प्रयोग गर्न सकिन्छ। सतुवा प्रोटिनको भण्डार कै रुपमा रहेको कुरा खाद्य विशेषज्ञले स्वीकार गरिसकेका छन्। सतुवालाई मुछनको लागि कुनै भाँडो विशेषको खासै आवश्यकता पर्दैन। भोजपुरी लोकजीवनमा प्रख्यात रहेको ‘गमछा’मा पनि जहाँसुकैको ठाउँमा पानी हालेर मुछ्न सकिन्छ तथा खान सकिन्छ अथवा पानीमा घोली त्यसमा नून वा चिनी र कागतीको रस मिसाइ पिउन सकिन्छ।
सतुवा पानीमा मुछ्नु भन्दा पहिले त्यसमा स्वादानुसार नून वा चिनी हाली दिँदा सतुवाको स्वाद झनै बढ्दछ। अझ घिउसित मुछि दिँदा त सतुवाको दिव्य स्वाद उत्पत्र हुन्छ। घोन्सारमा आगोको भुंग्रो हुन्छ जुन आलू, सखरकन्द, भण्टा,परवल तथा अन्य सामग्रीहरु पोलेर पकाउनको लागि आदर्श मानिन्छ ।
यस प्रकार पोलिएका सामग्रीको बोक्रा ताछेर त्यसमा नून,पोलिएको खुर्सानी, लहसुन, अदुवाका टुक्रा तथा सुद्ध खाने तेल मिसाएर हाथले मुछेर जुन परिकार तयार हुन्छ त्यसलाइ भोजपुरी भाषामा ‘चोखा’ भनिन्छ । आनन्दी धानको चामलको भुजा तथा भाँटिन (वाटुलो आकार र वैंगनी रड्डको भण्टा विशेष) को चोखा भोजपुरी लोकजीवनको आदर्श खाजाको गरिमामय आसन माथि विराजमान भइसकेको कुरा जगजाहेर नै भइसकेको छ ।
हालका दिनमा सामान्यजनको व्यस्त दैनिकीका कारणले अब गाउँमा घोन्सार पनि लोपोन्मुख अवस्थामा रहेको कुरा प्रष्ट छ। गाउँको टोल टोलमा रहने घोन्सार अब गाउँ भरिमा एउटाको संख्यामा पनि पाउन गार्हो भइसकेको अवस्था छ। बाहिरी टाढाको गाउँबाट अपर्झट रुपमा आइ पुग्ने कुनै कुटुम्ब, अतिथिलाइ सत्कार गर्नु पर्दा, भुजा र चोखा चाहिएको बेला पाउन गार्हो भइसकेको अवस्था विद्यमान छ। जसको कारणले त्यस्तो प्रयोजनको लागि अब गाउँमा पनि विस्कुट र चियाले गर्जो टार्ने बाध्यता छ। यसले ग्राम्य सभ्यताको साधारण शिष्टाचारको निर्वहन पनि कठीन हुँदैगइरहेको दुखद अवस्थालाई आत्मसात गर्न भोजपुरी लोकजीवन शापित तथा बाध्य छ ।