त्यत्रो धरौटी राख्ने पैसा मसँग छैन, जेलमै मर्न पनि सक्छु: पूर्व भूमिसुधारमन्त्री जाेशी (भिडियाे)

नेकपा (संयुक्त) का अध्यक्ष वयोवृद्ध राजनीतिज्ञ चन्द्रदेव जोशीमाथि बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ करोड ८ लाख ४८ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जीवनमा उनले कहिल्यै नचिताएको यत्रो आरोप लागेको भोलिपल्ट बिहानै उनको निवास पुग्दा केही शुभेच्छुकबीच दिक्दार मुद्रामा बसिरहेका थिए। ‘त्यत्रो पैसा मैले जीवनमा देखेको पनि छैन, भ्रष्टाचार त मैले कल्पना समेत गर्न नसक्ने विषय हो’, जोशीले बिएल नेपाली सेवासँग भने।

सुदूर पश्चिमको दार्चुलामा जन्मेका जोशी लामो संघर्षपछि गरिबी छिचोलेर नेकपा (संयुक्त) को अध्यक्ष र डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला चार महिना भूमिसुधार मन्त्री भएका थिए। 

मुद्दा दायरपछि मात्र आफूमाथि अभियोग लाग्दै छ भन्ने जानकारी पाएको बताउँदै उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक दिन फोन गरेर केही सोध्नु थियो भनेर डाकेको थियो। पत्र पनि नकाटी बोलाएर मौखिक रुपमा मन्त्री छँदा अगाडि बढाएको फाइलबारे सामान्य सोधपुछ गरेको थियो।’

यसबारे आफूले तत्कालीन सचिव दिनेशहरि अधिकारीलाई फोन गरी सोधेको बताउँदै जोशीले भने, ‘उहाँले केही होइन, सामान्य हो भन्नुभो। मलाई त त्यो के विषय थियो भन्ने पनि जानकारी थिएन।’

‘अब के गर्नुहुन्छ त ?’ भन्ने जिज्ञासा जोशीले भने, ‘अब मैले के गर्नु? जे गर्छ, अदालतले गर्छ। पैसा तिरेर वकील राख्नसक्ने हैसियत मसँग छैन। म केही गर्न सक्दिनँ। ’

‘यत्रो बिगो बमोजिमको धरौटी राख्ने मसँग सम्पत्ति पनि छैन। बिगो बमोजिम जेल राखियो भने मसँग जेलमै मर्नुबाहेक कुनै उपाय छैन।’

प्रकाशित मिति: : 2020-02-07 03:05:00

प्रतिकृया दिनुहोस्