चीनमा बुधबारमात्रै कोरोना भाइरसले ७० जनाको ज्यान लियाे

एजेन्सी

काठमाडाैं

चीनमा कोरोना भाइरसका कारण बुधबारमात्रै कोरोना सङ्क्रमित ७० जनाको ज्यान गएको छ। त्यहाँ अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९० पुगेको छ भने २४ हजार ३ सय नागरिकमा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म २५ देशका १ सय ९१ जनामा फैलिसकेको छ। अहिलेसम्म चीनबाहिर फिलिपिन्स र हङकङमा एक एक जनाको ज्यान गएको छ।

चीनभन्दा बाहिर २४ देशमा गरी अहिलेसम्म एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भैसकेको छ। हङकङमा फेरि १५ जना, मकाओमा आठ जना र ताइवानमा १० जनामा सङ्क्रमण देखिएको छ। ६ सय ३२ जना उपचारपछि ‘डिस्चार्ज’ भएको दाबी गरिएको छ। 

कोरोना भाइरसमा ज्यान गुमाउनेको सङ्ख्या सन् २००२–०३ मा सार्स भाइरसका कारण ज्यान गुमाउनेभन्दा धेरै भैसकेको छ। चीन र हङकङमा फैलिएको ‘सार्स’ भाइरसका कारण तीन सय ४९ जनाको ज्यान गएको थियो। 

प्रकाशित मिति: : 2020-02-06 20:33:35

प्रतिकृया दिनुहोस्