पृथ्वी राजमार्ग विस्तार भइरहँदा त्यसको विकल्पका रूपमा त्रिशूली परिपट्टि सडक निर्माणको योजना बनाइएको छ।
राजमार्गको समानान्तरमा गल्छीदेखि विशालटारसम्म दुई लेनको सहायक सडक निर्माण गर्न लागिएको सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए।
'पहिले नै ट्र्याक खुलिसकेको सडक भएकाले यसलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन समस्या हुदैन' उनले भने।
दुई लेन सडकका रूपमा विस्तार गरेर कालोपत्र गर्ने गरी तयारी अघि बढाइएको उनको भनाई छ। ठाउँठाउँमा पुल रहेकाले वारिपारि गर्न कुनै समस्या नहुने प्रमुख थापाले जानकारी दिए।
'एकातिर स्थानीयवासी लाभान्वित हुनेछन् भने अर्कातिर पृथ्वी राजमार्ग भएर हिँड्ने सवारीसाधन पारिबाट समेत आवतजावत गर्न सक्छन्' उनले भने।
नागढुङ्गा–मुग्लिन सडक सरकारले छ लेन विस्तारको तयारी गरिरहे पनि बजार क्षेत्रमा चार लेनभन्दा विस्तार गर्न नसकिने उनी बताउछन्।
'कतिपय स्थानमा भौगोलिक अवस्थाका कारण चार लेनमा विस्तार गर्न नसकिने अवस्था रहेकोले यो सडकलाई विकल्पका रूपमा अघि बढाइएको हो' उनले भने।
नागढुङ्गादेखि मुग्लिनसम्मको ट्राफिक व्यवस्थापनका लागि नै यो सडक निर्माण गर्न लागिएको प्रमुख थापाको भनाई छ।