सरकारले केहि गरेन भन्ने भ्रमको असर पर्दैन् : प्रधानमन्त्री ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाले मात्र उद्देश्यमूलकरुपमा काम गर्न सक्ने बताएका छन्।

नेपाल महिला सङ्घको एकता घोषणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलकरुपमा काम गर्न नसक्ने बताएका हुन्।

'नेकपाले नै सङ्घर्ष गरेर हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता स्थापित गर्यो' उनले भने।

पार्टीका महिला नेताकार्यकर्तालाई आफ्नो सङ्गठन नै बलशाली ठानेर यसैबाट परिवर्तन सम्भव छ भनेर लाग्न जोड दिँदै उनले भने, 'परिवर्तन र कम्युनिष्टविरोधी महिला संस्था वा अन्तर्राष्ट्रिय संस्थाहसँग सहकार्य गरेर महिला अधिकार स्थापित हुन्छ भन्ने पूर्ण सत्य होइन, यो काम हाम्रो सङ्गठनले मात्रै गर्न सक्छ।'

वर्तमान सरकारले विकास निर्माणलाई गति दिएकाले आगामी आम निर्वाचनमा दुई तिहाइ ल्याउनबाट नेकपालाई कसैले रोक्न नसक्ने उनको भनाई छ।

सरकारले केही गरेन भनेर फैलाउन खोजिएको भ्रमको कुनै असर नपर्ने उल्लेख गर्दै उनले भने, 'नेकपाले दुई तिहाइ ल्यायो, कसले रोक्न सक्दैन्, रोक्नका लागि तयारी गर्ने भए लागे हुन्छ।'

 

प्रकाशित मिति: : 2020-02-05 05:58:03

प्रतिकृया दिनुहोस्