मंगलबार ‘म हुँ र म गर्न सक्छु’ भन्ने मूल नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै छ।
समयमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो दिवस मनाइँदै आएको छ। विश्वको तथ्याङ्क हेर्दा एक वर्षमा झण्डै दुई करोड मानिसलाई क्यान्सर रोग लाग्ने गरेको छ।
नेपालमा झण्डै ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ। ८० दशमलव ९ प्रतिशत क्यान्सरका बिरामी भने अन्तिम अवस्थामा मात्रै उपचारका लागि अस्पताल जाने गरेका छन्। नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बासयको क्यान्सरका बिरामी धेरै छन्।
बर्सेनि महिलामा दुई हजार तीन सय ३२ जनामा क्यान्सर लाग्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। तीमध्ये एक हजार तीन सय ६७ जनाको ज्यान जाने गरेको छ।
चुरोट र सूर्तीजन्य पदार्थ सेवन गरेमा क्यान्सर लाग्ने खतरा धेरै हुने चिकित्सकहरु बताउँछन्। क्यान्सर लागेर ज्यान गुमाउनेमध्ये २२ प्रतिशत धुम्रपानका कारण भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचबीओ) ले जनाएको छ।