उत्तरगङ्गा आयोजना निर्माण हुन्छ : ऊर्जामन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उत्तरगङ्गा जलाशययुक्त आयोजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बागलुुङको ढोरपाटनमा रहेको आयोजनास्थलको सोमबार निरीक्षणपछि स्थानीयवासीसँग उनले आयोजनालाई अगाडि बढाउन स्थानीयवासीको साथ र सहयोग जरुरी रहेको बताए।

'आयोजना अगाडि बढाउन स्थानीयवासीको भूमिका रहेको छ' उनले भने। कूल ८२८ मेगावट क्षमताको जलाशययुक्त आयोजना हाल नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको उनले बताए।

'आयोजना निर्माण हुँदा स्थानीयवासीले मात्र नभई समग्र मुलुकले समेत ठूलो आर्थिक लाभ प्राप्त गर्छ' उनले बताए। आयोजनालाई सकेसम्म स्थानीयवासीको हितअनुसार नै अगाडि बढाउन सरकार लागिपर्ने उनको भनाई छ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी उत्तरगङ्गा जलविद्युत् कम्पनीले कूल ८२८ मेगावाट क्षमताको सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्नका लागि परामर्शदाता छनोटको प्रक्रिया अगाडि बढाएको छ।

थोरै बस्ती उठाउनुपर्ने तथा खेतीयोग्य जमीनसमेत कम प्रभावित हुने भन्दै प्राधिकरणले सो आयोजनालाई आकर्षक आयोजनाको रुपमा राखेको छ।

आयोजनाबाट कूल ६२५ घरधुरी विस्थापित हुने प्रारम्भिक अध्ययनले जनाएको छ। कूल २०० मिटर अग्लो बाँध निर्माण गरेर झण्डै १० किलोमिटर सुरुङबाट पानी पठाएर ८२८ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ।  

 

प्रकाशित मिति: : 2020-02-04 04:43:38

प्रतिकृया दिनुहोस्