सुनसरी प्रहरीले झापाका एक युवकको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
मंगलबार बिहान केशलिया खोला किनारमा विभत्स अवस्थामा झापा विर्तामोडका २० वर्षिय अभिषेक कटवालको शव भेटिएको थियो। विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहबी नगरपालिका– १२ सीमाना भएर बग्ने केशलिया खोलाको सुनसरी तर्फ बालुवा र परालले छोपेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा दुईजनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। पक्राउ पर्नेमा विजय कार्की र अर्जुन कार्की रहेका छन्। उनीहरु मध्ये एकलाई विराटनगर र एकलाई बेलबारी नगरपालिकाको बाहुनी क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका दुईजना लागूऔषध प्रयोगकर्ता रहेको बताएको छ। मृतक पनि लागूऔषध प्रयोगकर्ता भएको प्रहरी स्रोतले जानकारी दिएको छ। पक्राउ परेकाहरुलाई आइतबार दिउँसो म्याद थप गरी अनुसन्धान अघि बढाउने सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिए।