पार्टी फुटको अढाई वर्षपछि राप्रपा र राप्रपा संयुक्तबीच एकीकरणको सहमति

राप्रपा र राप्रपा संयुक्तबीच एकीकरणको सहमति भएको छ। पार्टी फुटको अढाई वर्षपछि दुई समूहबीच एकीकरण हुन लागेको हो।  

राप्रपाका अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीबीच महाराजगञ्जको एक होटलमा भएको  बैठकमा पार्टी एकीकरण गर्ने सहमति भएको हो। 

सहमति अनुसार पार्टीमा थापा, राणा र लोहनी अध्यक्ष हुनेछन्। केन्द्रीय समितिमा राप्रपाबाट ५५ प्रतिशत र संयुक्तबाट ४५ प्रतिशत रहनेछन्। पार्टीको पछिल्लो महाधिवेशनको विधानमा केन्द्रीय समिति एक सय ६३ जना रहने व्यवस्था छ। 

पार्टीको चुनाब चिन्ह आगामी महाधिवेशनबाट टुंगो लगाउन तीनै नेता सहमत भएका छन्। अहिले राप्रपाको चुनाब चिन्ह गाई र राप्रपा संयुक्तको हलो छ। 

पार्टीको नीति, विचार र सिद्धान्तको हकमा हकमा भने पार्टीको पछिल्लो महाधिवेशनको विधान लागू गर्न तीनै नेता सहमत भएका छन्।

यसअघि थापाले पार्टी एकता नभए राप्रपा महाधिवेशनमा जाने र पार्टी एकताको च्याप्टर तत्कालका लागि बन्द हुने अडान राखेका थिए। राप्रपा संयुक्तले पनि केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिबाट पार्टी एकताको बिषय टुंग्याउने तयारी गरिरहेको राणा निकट एक नेताले जानकारी दिए। 

पार्टी एकीकरण हुने निश्चित भएसँगै राप्रपा अध्यक्ष कमल थापाले शुक्रबार केन्द्रीय समिति बैठकमा प्रतिबेदन पेश गरेलगत्तै स्थगित गरेका छन्। राप्रपा समूहका एक शीर्ष नेताका अनुसार शुक्रबार बैठक चलिरहेका बेला संयुक्तका अध्यक्ष राणाले थापालाई टेलिफोन गरी बैठक स्थगित गर्न आग्रह गरेपछि थापाले स्थगित गरेका हुन्। 

एकीकरणका बिषयमा छिट्टै औपचारिक घोषणा हुने जानकारी पार्टी नेताहरुले दिएका छन्।   

प्रकाशित मिति: : 2020-02-01 03:44:06

प्रतिकृया दिनुहोस्