वीरेन्द्रनगरको टिपर काण्ड अझै सेलाएन, आफन्तद्वारा प्रदर्शन

वीरेन्द्रनगरमा मङ्गलबार टिपरको ठक्करबाट एक युवकको ज्यान गएपछि उत्पन्न तनाव अझैसम्म थामिएको छैन्। बिहिबार बिहानदेखि नै मृतकका आफन्त र स्थानीयवासीले वीरेन्द्रनगरमा प्रदर्शन गर्नुकासाथै सवारी साधन चल्न रोक लगाएका छन्।

प्रदर्शनमा उत्रिएका उनीहरुले टिपरधनी र चालकलाई जन्मकैदको सजाय हुनुपर्ने, आन्दोलनमा घाइते भएकाको उपचारका साथै उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन्।

वीरेन्द्रचोक, एरिचोकलगायतका स्थानमा तनाव बढेसंगै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। वीरेन्द्रचोकमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीको लाट्ठीले दैलेखका ११ वर्षीय विमल नेपाली घाइते भएका छन्।

उनको दाँत झर्नुका साथै ओठमा चोट लागेको छ। प्रहरीले सोही स्थानबाट आठ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। घटना भएको तेस्रो दिन बितिसक्दा पनि सुर्खेतको अवस्था नसेलाएपछि व्यवसायीले प्रहरी प्रशासनप्रति आक्रोश पोखेका छन्।

पीडित र पीडक पक्षबीच वार्ताको सहजीकरण गर्नुको साटो प्रहरी–प्रशासनले अनावश्यक धरपकड गरेको व्यवसायीको आरोप छ।  प्रहरी प्रशासनले शान्ति सुरक्षा कायम गर्न नसकेको सुर्खेत उद्योग वाणिज्य सङ्घले जनाएको छ। 

समयमै टिपरधनीको खोजी गर्न नसकेकाले आन्दोलनमा उत्रिएको पीडित परिवार सङ्घर्ष समिति संयोजक राजन सिंहले बताए। सहमति हुन नसक्दा शव परीक्षण हुनसकेको छैन।

शव प्रदेश अस्पताल कालागाउँमा राखिएको छ। टिपरधनी सम्पर्कमा आएकाले अहिले दुवै पक्षबीच वार्ता भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए।

'टिपरधनी हरि बिसी सम्पर्कमा आउनुभयो', उनले भने, 'अहिले वार्ता भइरहेको छ।' मङ्गलबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ गौतम चोकमा भे१ख २२४२ नंको टिपरको ठक्करबाट कालीकोट महाबै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएको थियो।

चालक वीरेन्द्रनगर–१० का राजकुमार बोहरालाई भने नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-01-31 03:07:50

प्रतिकृया दिनुहोस्