साथीको हत्या गरेर फरार भएका बङ्गलादेशी नागरिक पक्राउ

साथीको हत्या गरेर फरार भएका बङ्गलादेशी नागरिक दुला मियाँ पक्राउ परेका छन्।  मियाँसँगै काठमाडौं आएका ढाकास्थित सनरे ट्राभल टुर्स प्रालिका सञ्चालक मोहिद्दिन अहमदको हत्या गरेर फरार भएका थिए।

काठमाडौंको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको ११४ नं कोठामा सँगै बसेका बेला मदिराको बोतलले हानेर हत्या गरी फरार भएका उनलाई गएराति लहानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौ्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए।

घटना घटाएर फरार भएका मिया रक्सौल, काँकडभिट्टा हुँदै पुनः नेपाल फर्किएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ। 

उनले होटलको कोठामै रहँदा शुरुमा बोतलले टाउकोमा प्रहार गरेको र त्यसपछि त्यही सिसाले घाँटीमा हानेर मारेको देखिएको परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। त्यसपछि उनले शवलाई सिरकले ओढाएर मानिस सुतेजस्तो बनाई छाडेर भागेका थिए।

प्रहरीका अनुसार अहमद सन् २०१५ देखि नेपाल आउजाउ गर्थे। उनी विभिन्न होटलको क्यासिनोका नियमित ग्राहक थिए। यसपालि उनीहरु यही माघ ६ गते पछिल्लोपटक नेपाल आएका थिए। हिमालय एयरलाइन्सको सिट १० को बी र सीमा बसेर उनीहरु आएको खुलेको छ।

एउटै कोठाको एउटै बेडमा ६ गते बसेका व्यक्तिले भोलिपल्ट ७ गते हत्या गरेको र प्रहरीलाई भने ८ गते मात्रै खबर आएको थियो। 

प्रारम्भिक अनुसन्धानमा उसलाई कसैले मार्न लगाएको देखिएको प्रहरीले जनाएको छ। उनीहरुका आफन्तले पनि सोही आशङ्का गरेका छन्। आवश्यक अनुसन्धान पूरा गरी चार दिनअघि नै आफन्तले शव लिएर गइसकेका छन्।
 

प्रकाशित मिति: : 2020-01-31 02:48:04

प्रतिकृया दिनुहोस्