वीरेन्द्रनगर दिनभर तनावग्रस्त, बुधबार बिहानसम्म कर्फ्यू आदेश

सुर्खेतको वीरेन्द्रनगर  दिनभर तनावग्रस्त बनेको छ। मंगलबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ गौतमचोक नजिकै टिपरले किचेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको हो।

पश्चिम दिशाबाट पूर्वतर्फ आइरहेको भे १ ख २२४२ नम्बरको टिपरले सोही दिशाबाट पूर्वतर्फ आइरहेको भे १ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको मृत्यु भएपछि तनाव बढेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्र रुप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको छ।  

स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन्।

घाइतेहरुको उपचार अहिले स्थानीय अस्पतालमा भइरहेको छ।

आन्दोलनकारीले जिल्ला उद्योग बाणिज्य संघको कार्यालय, एरिचोकमा रहेको प्रहरी बिट अन्य ठाउँमा सरकारी धनमालको नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

स्थिति नियन्त्रणमा लिन खोज्दा आन्दोलनकारी प्रहरीमाथि नै जाइलाग्न थालेपछि जिल्ला प्रशासनले कर्फ्यू जारी गरेको छ। जारी कर्फ्यू मंगलबार बेलुका ६ः३० बजेदेखि बुधबार बिहान ६ः०० बजेसम्मका लागि लागू हुनेछ।

प्रशासनका अनुसार सुर्खेतको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको दक्षिण क्षेत्रको पाँच मिटर भित्र कर्फ्यू  आदेश जारी गरिएको हो।

प्रकाशित मिति: : 2020-01-29 06:43:43

प्रतिकृया दिनुहोस्