एमसीसी सम्झौतालाई अनुमोदन गर्न हुँदैन: साझा पार्टी

बिएल संवाददाता

काठमाडाै‌ं

साझा पार्टीले अहिलेकै अवस्थामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अनुमोदन गर्न नहुने बताएको छ।

सोमबार विज्ञप्ति जारी गरी साझा पार्टीले कतिपय बुँदाहरु नेपालको हित र आत्मसम्मानको विपरीत देखिएकाले ती विषय निरुपण नगरी सम्झौता अनुमोदन गर्नु उपयुक्त नहुने बताएको छ।

‘नेपालको कानूनसँग बाझिने वा नेपालको कानून अप्रभावी हुन सक्ने, द्विपक्षीय सहयोगको विषयमा तेश्रो मुलुकको सहमति लिनु पर्ने, आयोजनाको कार्यान्वयनमा नेपाल सरकारभन्दा अधिकांश अवस्थामा एमसीसीकै निर्णय हावी हुने लगायतका प्रस्तावित सम्झौतामा परेका कतिपय बुँदाहरू नेपालको हित र आत्मसम्मानको विपरीत देखिन्छन्। यस्ता संवेदनशील विषयहरूको निरूपण बिना सम्झौतालाई अनुमोदन गर्ने प्रक्रिया अघि बढाउनु उपयुक्त देखिंदैन।’ प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

राजनीतिक तह र जनस्तरमा समेत ध्रुवीकरण निम्त्याएको यो मुद्दाको ठोस निरूपण केहि समाचारमा आएजस्तो संसदको संकल्प प्रस्तावबाट हुन नसक्ने पार्टीले बताएको छ।  एमसीसीको जटिलता सुल्झाउन सम्वन्धित पक्षसँग तुरून्त कुटनीतिक संवाद अगाडि बढाउन साझा पार्टीले सरकारलाई आग्रह गरेको छ।

‘यो जटिलता सुल्झाउन साझा पार्टी नेपाल सरकारलाई सम्वन्धित पक्षसँग तुरून्त कुटनीतिक संवाद अगाडि बढाउन आग्रह गर्दछ। साथै नेपालको बृहतर हितलाई केन्द्रमा राखी प्रस्तावित सम्झौताको समीक्षा र आवश्यक संशोधनको सुझावका लागि विषय विज्ञ र सरोकारवाला संलग्न एक कार्यदल गठन गर्नु उपयुक्त हुने साझा पार्टीको निष्कर्ष रहेको छ।’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: : 2020-01-28 03:59:16

प्रतिकृया दिनुहोस्