संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदल गठन

प्रमुख चार दलबीच सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदल गठन गरिएको छ।

संसदीय समितिको कार्यादेश बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।

कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन्। छानबिन समिति गठन गर्ने सहमति भएसँगै समितिको कार्यादेश निर्धारणका लागि तयारी थालिएको र आजको संसद् बैठक सहजरूपमा अघि बढ्ने विश्वास गरिएको छ।

छानबिन समिति गठन गर्ने विषयमा शनिबार छलफल भएको थियो। शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालले सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, कानुनमन्त्री पदम गिरीलगायतसँग छलफल गरेका थिए।

त्यसपछि प्रधानमन्त्रीले सत्तारुढ दलका नेतासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखकलगायतसँग छलफल गरेका थिए।

आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराहन्न १ : १५ बजे बस्ने गरी बोलाइएको छ।

प्रकाशित मिति: : 2024-05-19 07:01:00

प्रतिकृया दिनुहोस्